कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५
661

नेपालगन्जमा निर्माणाधीन अवस्थामा रहेको अत्याधुनिक बसपार्क निर्माण समयमै सम्पन्न हुन नसकेपछि उपमहानगरपालिकाले दोस्रो पटक म्याद थपेको छ ।
नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको बसपार्क बनाउन दुई वर्षअघि काम थालिएको थियो । निर्माण कम्पनीले ठेक्का कबोलेको मितिले १५ महिनाभित्र बसपार्क तयार पार्ने सम्झौता गरे पनि अहिलेसम्म ३० प्रतिशतमात्रै काम भएको छ ।
ठेक्का पाएको युनाइटेड बिल्डर्स कम्पनीलाई उपमहानगरले वैशाख ७ गते दोस्रो पटक तीन महिनाका लागि म्याद थपेको हो । तर, कामको गति हेर्दा बाँकी दुई महिनामा पनि बसपार्क तयार हुने छाँट देखिँदैन । बसपार्क निर्माणमा ढिलाइ हुँदा सवारीसाधन पार्किङ गर्न सबैभन्दा बढी समस्या भएको छ । टिकट काउन्टर घुम्तीमा राखिएका छन् । बसपार्क निर्माणका लागि कम्पनीले १४ करोड ९४ लाखमा ठेक्का कबुल गरेको थियो ।
साढे चार बिघा क्षेत्रफलमा बनाउन लागिएको बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेना गृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्ने लक्ष्य छ । कम्पनीका इन्जिनियर सुशीलचन्द्र पौडेलले विभिन्न कारणले काममा ढिलाइ भएको बताए । “कहिले रकम निकासामा ढिलाइले समस्या भो,” उनले भने, “दोस्रो पटकको सम्झौताको मिति दुई महिना बाँकी छ । त्यस अवधिमा ४५ प्रतिशत काम सक्नुपर्ने सम्झौता छ ।”
उक्त समयभित्र तोकिएको काम गर्न नसके निर्माण कम्पनीले ०.५ प्रतिशतका दरले प्रतिदिन जरिवाना तिर्नुपर्ने सम्झौतामा उल्लेख छ । यो अनुपातमा कम्पनीले दैनिक ७५ हजार रुपैयाा जरिवाना तिर्नुपर्ने हुनसक्छ । बसपार्क निर्माणका लागि प्राविधिक रेखदेख तथा अनुगमन गरिरहेको सेरा कन्सल्टेन्ट प्रालिका इन्जिनियर धर्मराज भट्टराईले पछिल्लो समय थपिएको ठेक्का अवधि सकिन दुई महिना बाँकी रहेको बताए । उनले समयैमा ठेकेदारले काम सम्पन्न नगर्दा दोस्रोपल्ट समय थपिएको बताए । “समयमै साइट क्लियर नभएका कारण पनि समस्या निम्तियो,” उनले भने । नेपालगन्ज उपमहानगर पालिकाले नगरविकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको छ ।