प्रदेश राजधानीका लागि नुवाकोटमा सम्भाव्यता अध्ययन
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
498

प्रदेश नं ३ को राजधानी बनाउन सम्भाव्यता अध्ययन गर्न गठित समितिले नुवाकोटको साधनस्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ ।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानहरूको अध्ययनको क्रममा समितिका संयोजक दीपक निरौलासहितको सदस्यको टोलीले नुवाकोटको स्थलगत अध्ययन तथा सरोकारवालासँग अन्तरक्रिया गरी भौतिक संरचना,  भौगोलिक बनावटलगायतका तोकिएको मापदण्डको तथ्यांक संकलन गरेको हो । 

जिल्लामा रहेका सरकारी भौतिक संरचना र विकास निर्माणको अवस्थाका बारेमा अध्ययन गरिएको समितिका सभापति निरौलाले जानकारी दिए ।

निरौलाको अनुसार राजधानी चयनका लागि सचिवालयमा दर्ता भएका प्रस्तावको आधारमा नुवाकोटबाट स्थलगत अध्ययन गरी समितिले कामलाई तीव्रता दिएको हो । “केही दिनअघि प्रश्नावलीमार्फत तथ्यांक संकलन गरी प्रस्ताव दर्ता भएका जिल्लाको वस्तुस्थितिको जानकारी लिएका थियौ ।” निरौलाले भने, “स्थलगत अध्ययनका क्रममा देखिएका पक्षलाई उद्धृ्रत गर्दै प्रदेश सभामा प्रतिवेदन पेस गर्नेछौं ।”

अध्ययनमा आएको टोलीलाई यहाँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, प्रदेशसभा सदस्यहरू बद्री मैनाली, हिरानाथ खतिवडा, आशामाँया तामाङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसहित राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजलगायतले प्रदेशको राजधानी नुवाकोट हुनुपर्ने आधार पेश गरेका थिए । 

जिसस नुवाकोटले समितिलाई उपलब्ध गराएको तथ्यांकमा राजधानीका लागि १२१ वटा प्रश्नावलीमा चलचित्र बोर्ड, फोरेन्सिक प्रयोगशाला, अत्याधुनिक प्रयोगशाला, प्राकृतिक अस्पताल, चिडियाखाना, पुस्तकालय, विज्ञान तथा प्रविधि प्रतिष्ठान र रंगशालाबाहेक ‘सबै संरचना उपलब्ध भएको’ उल्लेख छ ।

नुवाकोटको अध्यययन पूरा गरेको समितिले अब काभ्रे, भक्तपुर, चितवन र मकवानपुरको अध्ययन पश्चात आगामी असार १० गते प्रतिवेदन पेश गर्ने समितिका सदस्य रिता माझीले जानकारी दिइन् । समितिको म्याद असार ११ गते सकिँदैछ ।

प्रदेश नं. ३ को राजधानी माग गर्दै काभ्रेका सांसद्ले गत चैत १४ गते, नुवाकोट र रसुवाका सांसद्ले १५ र भक्तपुरका सांसद्ले २६ गते छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेश राजधानीको मागको प्रस्ताव छुट्टाछुट्टै दर्ता भएपछि ‘औचित्यको आधारमा’ सभामा प्रतिवेदन पेश गर्न ४५ दिनको समयसीमा तोकेर गत वैशाख १४ गते १३ सदस्य विशेष समिति गठन गरिएको थियो । समितिले वैशाख ३० गतेबाट काम सुरु गरे पश्चात विशेष समितिमा यही जेठ २० मा चितवनलाई प्रदेशको राजधानी माग गर्दै थप प्रस्ताव दर्ता भएको थियो । -रामहरि न्यौपाने