एकीकृत सूचना प्रविधिको शुभारम्भ
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
243

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले विद्युतीय साक्षरता बढाउन सूचना प्रविधिसम्बन्धी कार्यक्रमलाई स्थानीय सरकारका प्रत्येक तहमा सुरु गर्न लगेको बताएका छन् । नेपालमै पहिलो पटक मण्डन–देउपुर नगरपालिकामा सुरु गरिएको एकीकृत सूचना प्रविधि सेवा केन्द्रको उद्घाटन गर्दै मन्त्री बास्कोटाले सरकार आफै ‘पेपर लेस’ अभियानमा लागेको बताए ।
“नेपालमा ३१ प्रतिशतमात्रै विद्युतीय साक्षरता छ, यसलाई आगामी दिनमा ५० प्रतिशत पुराएर कानुनी मान्यता दिने तयारी गरिएको छ,” मन्त्री बास्कोटाले भने । उनले नेपाल सरकारले प्रदान गर्ने अधिकांश सेवा/सुविधा अनलाइन/इन्टरनेटमार्फत प्रवाह गर्न उक्त कार्यक्रम उपयुक्त र सहज हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, नगर उपप्रमुख निर्मला शाही, प्रमुख प्रशासकीय प्रमुख भिमकान्त शर्मालगायतले एकीकृत सेवाबाट नागरिकले थप सेवा प्राप्त गर्ने बताए ।
यसैबीच मन्त्री बास्कोटाले हिगुवापाटी–ज्याम्दी–दोलालघाट सडकको शिल्यान्यास गरे । २१ करोड ३२ लाख ४५ हजार रुपैयाँमा निर्माण हुने सडक २० किमि लम्बाइ, साढे ६ मिटर चौडाइ, साढे ७ मिटर दुईतर्फी नालीसहित निर्माण हुनेछ । सडकको अधिकार क्षेत्र दाँयाबाँया १०/१० मिटर गरी २० मिटर सडक कायम गरिएको छ । सडक निर्माणसँगै सडक चौडा पार्ने, स्लाब कल्भर्ट, पाइप कल्भर्ट, सिँचाइ कसिङ, टेवा पर्खाल, माटो खन्ने कार्य र ग्राभेल गर्नु पर्नेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई, जिल्ला आयोजना कार्यान्वयन इकाईबाट पुनर्निर्माण तथा स्तरोन्नति गर्न लागिएको हो ।