प्रगति ढकाल
मंगलबार, असार २६, २०७५
367

नेपाल सरकारले चीनलाई उपहार स्वरुप दिन लागेको गैंडा चितवनबाट (आज) मंगलबार काठमाडौं ल्याइँदै छ । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध बढाउने उद्देश्यका साथ बिहीबार नै चीनलाई १ जोडी गैंडा हस्तान्तरण गरिँदै छ ।
चीनलाई २ जोडी गैंडा दिने निर्ण भए पनि चालू आवमा १ जोडी गैंडा पठाउने र आगामी आव ०७५-७६ मा अर्को जोडी गैंडा पठाउने तयारी छ । चीनमा कसिंगे गैंडा लोप भएपछि चीन सरकारले नेपाल सरकारसँग गैडा दिनका लागि प्रस्ताव गरेको थियो । विश्वमा गैंडाको महत्व बढ्दै गएपछि चीनले लोप भइसकेको गैंडाको संख्यामा वृद्धि गर्न नेपालसँग गैंडा लैजाने प्रस्ताव गरेको हो ।

सन् २०१६ को जनवरीमा भएको तत्कालीन वनमन्त्री अग्नि सापकोटाको चीन भ्रमणका क्रममा नेपालको गैंडा दिन चीनका उच्च सरकारी अधिकारीले प्रस्ताव गरेका थिए । सापकोटाको प्रस्तावप्रति सकारात्मक हुँदै चीनलाई गैंडा उपलब्ध गराउनका लागि पहल थालेका थिए । “चीनमा एकसिंगे गैंडा लोप भइसकेको रहेछ, त्यहाँका उच्चपदस्थ अधिकारीले नेपालको गैंडा प्रस्ताव गर्नुभएको थियो, प्रस्ताव सकारात्मक लागेर नै गैंडा दिने निर्णय भएको हो,” पूर्वमन्त्री सापकोटाले कारोबारसँग भने, “चीनले हामीलाई आर्थिक रूपमा धेरै सहयोग गरिसकेको छ, आगामी दिनमा पनि सहयोग गर्ने बाचा गरेको छ, हामीले सधंै हात फिजाएर कति माग्ने ? केही उपहार दिन पाए राम्रो पनि त हुन्छ नि ।”
सापकोटाको विशेष पहलमा नै गैंडा उपहार स्वरुप चीनलाई हस्तान्तरण गर्न लागिएको हो । वि.सं २०७३ असार २६ गते तत्कालीन प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री हुँदा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैँडा उपहार स्वरुप दिने निर्णय गरेको थियो ।
‘भद्र’ र ‘रुपसी’ नामका १ जोडी गैंडा खोर भएको गाडीमा राखेर २६ असारमै काठमाडौंतर्फ ल्याइने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ ।
तर, मुग्लिन–नारायणगढ सडकमा पहिरो जाने क्रम नरोकिएकाले ‘भद्र’ र ‘रुपसी’ लाई दुई दिनअघि नै चितवनबाट काठमाडौं ल्याइन लागिएको हो । विभागका महानिर्देशक मनबहादुर खड्काले काठमाडौं ल्याउने तयारी भएको बताए । “मंगलबार नै चितवनबाट गैंडा काठमाडौं ल्याउने तयारी भएको छ यदि पानी ठूलो पर्यो र पहिरो गयो भने बुधबार ल्याउनुपर्ने हुन्छ,” उनले भने, “गैंडलाई असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चीनलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।”
गैंडा हस्तान्तरणका लागि कुल एक करोड ५० लाख रुपैयाँ लागत लाग्ने विभागले बताएको छ । आवश्यक लागत चीन सरकारले व्यहोर्ने सम्झौता भएको छ ।