नीरज पिठाकोटे
बुधवार, असार २७, २०७५
312

वीरगन्ज- नेपालको सामाजिक विकास र परिवर्तनका लागि आर्थिक सहयोग गर्दै आएको विकास साझेदार संस्था यूएन ह्याबिट्याटले वीरगन्ज महानगरपालिकालाई दिने सहयोग रोकेको छ ।
वीरगन्ज महानगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न दिएको सहयोग वीरगन्ज महानगरपालिकाले चित्तबुझ्दो काम नगरेकोले रोकेको जनाएको छ । सरसफाइका लागि आर्थिक सहयोगवापतको यूएन ह्याबिट्याटले दिएको ३० हजार डलरमध्ये ६ हजार डलर रकम, अभियान सफल नभएपछि रोकिएको हो । यूएन ह्याबिट्याटले दिएको मापदण्ड र लक्ष्यअनुसार वीरगन्ज महानगरपालिकाले पूरा गर्न नसकेपछि सहयोग रकम रोकेको स्रोतले जनाएको छ । ३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा हालसम्म २३ वटा वडा खुलादिसामुक्त क्षेत्र घोषणा गरिए पनि प्रभावकारी नदेखिएपछि वीरगन्ज महानगरपालिका खुलादिसामुक्त अभियानका लागि असफल भएको भन्दै यूएन ह्याबिट्याटले रकम रोकेको हो ।

यूएन ह्याविट्याटले दुई किस्तामा दिएको २४ हजार डलरको पनि महानगरपालिकाले वडामा एउटा पनि सार्वजनिक शौचालय नबनाई औपचारिक कार्यक्रममा मात्र रकम खर्च गरेको बताइएको छ । महानगरपालिकाले २३ वटा वडा खुलादिसामुक्त क्षेत्र घोषणा गरेको भए पनि कुनै पनि वडामा सार्वजनिक शौचालय भने बनाएको छैन । वीरगन्ज महानगरपालिकाले गरेको काम सन्तोषजनक नभएको यूएन ह्याबिट्याटले जनाएपछि ३० हजार डलरमध्ये बाँकी रहेको ६ हजार डलर यूएन ह्याबिट्याटले रोकेको हो ।
वीरगन्ज महानगरपालिकाका सरसफाइ अधिकृत सुनिल कण्ठले महानगरपालिका सरकारी कार्यालय भएकाले गैरसरकारी संस्थाले भनेअनुसारको काम नगरेकाले उनीहरूले सहयोग रोकेको बताए । उनले भने, “हामी सरकारी कर्मचारी हौं, महानगरपालिकाको आफ्नै नियम कानुन छ, उनीहरूले भनेअनुसार काम गर्न सकिँदैन । त्यो नभएपछि सहयोग रकम रोकेको हो । त्यस्ता गैरसरकारी संस्था आउँछन् जान्छन् यसले हामीलाई फरक पर्दैन ।” काम नगरी तलब लिन पल्किएका वीरगन्ज महानगरपालिकाका कर्मचारी अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सरसफाइका लागि दिएको सहयोगअनुसारको काम गर्न दबाबमा बस्न नचाहेपछि सहयोग रकम फिर्ता लान बाध्य भएको हो ।
यस्तै अर्को विकास साझेदार संस्था युनिसेफले पनि सन् २०१८ का लागि बजेट विनियोजन गर्न सकेको छैन । युनिसेफले वीरगन्ज महानगरपालिकामा बाल संरक्षण र बाल न्यूनीकरण, बालमैत्री स्थानीय शासन (सीएफएलजी) गरी तीनवटा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसमा सरसफाइका लागि युनिसेफले करिब १५ लाख सहयोग गरेको थियो । त्यसमा प्रचारप्रसार, होर्डिङ बोर्ड राख्ने बाल समूह गठन गर्नेलगायतका काममा खर्च गरेको छ । लगानीअनुसार सन्तोषजनक नै काम भएको युनिसेफका प्रतिनिधि वृजकिशोर पटेलले बताए । उनले भने, “२०१७ को सरसफाइमा खास गरी प्रचार प्रसारमा बढी केन्द्रित रहेको कार्यक्रम समग्रमा सफल नै भएको छ ।” उनका अनुसार २०१८ का लागि भने रकम निकाशा भएको छैन । तीन तहको निर्वाचनपछि प्रक्रिया नमिल्दा फण्ड रिलिज नभएको उनको भनाइ छ ।