सडक स्तरोन्नति नहुँदा सवारी सञ्चालनमा समस्या
कारोबार संवाददाता
बिहिवार, असार २८, २०७५
292

कालिकोट-कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नाग्मदेखि मुगुको गमगढी सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक निर्माण भएको ८ वर्ष बित्दा पनि स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको हो ।
सडक निर्माण भएको लामो समय बित्दा पनि कालोपत्रेसहितको स्तरोन्नति नहुदा वर्षायाममा हिलो हुने भएकाले सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ ।
नेपाली सेनाले नाग्म–गमगढी सडक २०६९ पुस १ गते निर्माण सम्पन्न गरी सवारीसाधन सञ्चालनमा आएको थियो । सडकको स्तरोन्नति नहुँदा दोहोरो गाडी चलाउन मुस्किल हुने गरेको र वर्षायाममा रारा आउने पर्यटकको संख्या कमी हुने गरेको कालिकोट नाग्मका स्थानीय मायालाल महताराले बताए । “एकतर्फी सडक भएकाले ठूला गाडी चलाउन समस्या हुने गरेको छ,” उनले भने, “वर्षायाममा सडक हिलाम्मे हुने गरेका कारण रारा आउने पर्यटक पनि आउँदैनन् ।”
कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेतदेखि नाग्मासम्म २३८ किमि सडक कालोपत्रे भए पनि नाग्मादेखि गमगढीसम्मको ९४ किमि सडक कच्ची हुँदा सवारीसाधन चलाउन समस्या हुने गरेको जुम्ला कनकासुन्दरी गाउँपालिकाका स्थानीय नरबहादुर रोकायाले बताए । “सुर्खेतदेखि नाग्मसम्मको सडक कालोपत्रे भएको छ,” उनले भने, “नाग्मदेखि मुगुसम्मको सडक स्तरोन्नति र कालोपत्रे नहुदा सवारीसाधन सञ्चालनमा समस्या हुने गरेको छ ।”
सडकको स्तरोन्नति नहुँदा मुगु र जुम्लाको सिमाना घुच्ची लेकको सातमोड, ताल्चा एयरपोटनजिक, मैतुडाँडा झयारीखोला, जुम्लाको रोकायाबाडा, जिया भीरलगायत दर्जन स्थानमा सवारीसाधन चलाउन समस्या छ ।
नाग्म गमगढी सडकखण्ड आगामी आर्थिक वर्षमा वर्षदेखि सडक कालोपत्रेको काम अगाडि बढ्ने सडक डिभिजन प्रमुख माधवप्रसाद अधिकारीले बताए । “आगामी आर्थिक वर्षमा सडकको स्तरोन्नतिसहित कालोपत्रे गर्ने बजेट छुट्टिएको छ,” उनले भने, “आगामी आवबाट कालोपत्रेसहित सडक स्तरोन्नतिको काम सुरु हुनेछ ।”
दर्जनौं पुल अलपत्र
नाग्म–गमगढी सडक खण्डमा पर्ने दर्जनौं पक्की पुल निर्माण नहुँदा समस्या भएको छ । सडक खण्डको जुम्लाको गोठीज्युला, झयारी, ताल्चा, पिना खोलालगायत स्थानमा पक्की पुल निर्माण नहुँदा सवारीसाधन सञ्चालनमा समस्या छ ।