प्रगति ढकाल
शुक्रवार, श्रावण २५, २०७५
466

काठमाडौं-सरकारले निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गर्ने योजना बनाएको छ । जडिबुटीबाटै मुलुकको आर्थिक समृद्धि गराउने लक्ष्यका साथ निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गर्न लागेको हो ।
नेपाल जडिबुटीको धनी राष्ट्र भए पनि आर्थिक समृद्धिमा फड्को मार्न सकेको छैन । जडिबुटीको सही रूपमा व्यवस्थापन र प्रशोधनलाई ध्यान दिन नसक्दा कम मूल्यमा नै जडिबुटी निर्यात हुँदै आइरहेको छ । नेपालबाट निर्यात हुने अधिकांश जडिबुटी कच्चा पदार्थको रूपमा निर्यात हुँदै आइरहेको छ ।

वन तथा वातावरण मन्त्रालयले पनि केही महिना अगाडि सार्वजनिक गरेको ‘वन तथा वातावरण क्षेत्रको स्थितिपत्र’ मार्फत जडिबुटी तथा गैरकाष्ठ प्रजातिको हिसाबले नेपाल सम्पन्न भए पनि यसको संरक्षण, व्यवस्थापन, प्रविधि विस्तार र उपयोगमा अपेक्षित विकास तथा विस्तार हुन नसकेको स्वीकार गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांक हेर्दा नेपालबाट कुल निर्यात हुने वस्तुमा जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको अंश करिब १० प्रतिशत छ । वन क्षेत्रका लागि यो जडिबुटी तथा गैरकाष्ठ वन पैदावार एउटा महत्वपूर्ण उपक्षेत्र हो । तुलनात्मक लाभको क्षेत्रमध्ये जडिबुटी एउटा महत्वपूर्ण क्षेत्र भए पनि रोजगारी सिर्जना, स्थानीय औषधीय र अन्य आवश्यकता पूरा गर्न र मुलुककै समृद्धिका लागि यस क्षेत्रमा अपेक्षित रूपमा काम हुन नसकेको स्थितिपत्रमा उल्लेख छ । “जडिबुटीको क्षेत्रमा हुनुपर्ने पहिचानको पर्याप्त ज्ञान, प्रशोधनको व्यवस्था, प्रविधिको विकास र हस्तान्तरण हुनसकेको छैन,” स्थितिपत्रमा भनिएको छ, “यो क्षेत्रलाई परिचालन गर्ने समग्रतामा नीतिगत व्यवस्था, कार्यकम तथा सुदृढ सांगठनिक व्यवस्था र विज्ञ जनशक्तिको कमजोर अवस्था छ ।”
वनस्पति विभागका महानिर्देशक सञ्जीवकुमार राईले जडिबुटीबाट आर्थिक समृद्धि सम्भव भए पनि आर्थिक समृद्धि हुन नसकेको स्वीकार गर्दै प्रारम्भिक प्रशोधन गरेर मात्रै निर्यातजन्य जडिबुटीको मूल्य अभिवृद्धि गरिने तयारी भइरहेको बताएका छन् । “कच्चापदार्थको रूपमा होइन अब प्रशोधित जडिबुटीमात्रै निर्यात गर्नुपर्छ, कच्चा पदार्थको रूपमा जडिबुटी निर्यात गर्दा सस्तोमा बिक्री गर्नुपर्छ, प्रशोधन गरेर जडिबुटीको मूल्य अभिवृद्धि गर्ने नीति लिएका छौं,” उनले भने, “जडिबुटीबाटै आर्थिक समृद्धि बढाउने हो भने सरकारले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अगाडि बढ्न आवश्यक छ ।”
अहिलेसम्म विदेश निर्यात हुने जडिबुटीको खेती विस्तार हुनसकेको छैन । जडिबुटीको खेती विस्तार हुन नसक्नुमा वनस्पति विभागमा रिसर्च स्टेसनकै कमी रहेको राईको भनाइ छ । “रिसर्च स्टेसनमा पनि आवश्यकता अनुसार दरबन्दी छैनन्,” उनी भन्छन्, “हामीले केही क्षेत्रमा जडिबुुटी खेती विस्तार र यस विषयमा प्रचार प्रसारका लागि विभिन्न पुस्तक प्रकाशन गर्ने तथा किसानलाई प्रविधि हस्तान्तरण गर्ने गरिरहेका छौं, तर यो पर्याप्त छैन ।”
जडिबुटीलाई खाद्य बाली सँगसँगै कसरी अगाडि बढाउने ?, खाली रहेका भू–भागमा कसरी जडिबुटी रोप्ने ? स्पष्ट नीति र प्रविधि नभएको भन्दै राईले जडिबुटीबाट मुलुकको समृद्धिको सम्भावना हुँदाहुँदै पनि आर्थिक विकासमा जडिबुटीको योगदान बढाउन नसकिएको बताए ।
‘वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना’ २०७५ अनुसार जडिबुटीबाट अर्थतन्त्र विकासमा टेवा पु¥याउन, जडिबुटीको वैज्ञानिक र दिगो व्यवस्थापन कार्ययोजनाको निर्माण गरिने उल्लेख गरिएको छ । कार्ययोजना अनुसार जडिबुटी खेती विस्तार र प्रविधि हस्तान्तरण, सातै प्रदेशमा मूल्य अभिवृद्धिका लागि प्रशोधन प्लान्टको स्थापना, जडिबुटीको उपलब्धताको आधारमा स्थान विशेष जडिबुटी पकेट क्षेत्रको विकास गरी रोजगारी सिर्जना गरिने छ ।
विभागकी व्यवस्थापन तथा विकास महाशाखा प्रमुख ज्योति जोशी (भट्ट) ले बजारको माग पत्ता लगाएर जडिबुटी खेती विस्तार गर्न आवश्यक रहेको बताएकी छन् । “विभागले जडिबुटीको गुणस्तर प्रमाणीकरण गर्छ अनि विश्व बजारमा पुग्छ,” उनले भनिन्, “तर अझै पनि हामीले मूल्य अभिवृद्धि गरेर निर्यात बढाउनुपर्छ, जडिबुटी क्षेत्रमा निजी लगानीलाई आकर्षित गर्न बीमा र अनुदानको व्यवस्था हुनुपर्छ ।”