कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
256

दमौली-शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका १६ मार्गलाई नगरको प्रमुख मार्गको रूपमा प्राथमिकतामा राखेको छ । ती मार्गको स्तरोन्नति र नाला निर्माणका लागि नगरपालिकाले आव ०७५÷७६ को बजेटबाट ३ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
दुलेगौंडा हर्कपुर मोटरमार्ग, लालध्वज मोटरमार्ग, दुलेगौंडा लामागाउँ मोटर मार्ग, दुलेगौंडा राइपुर मोटर मार्ग, ढोरवाराही मन्दिर जाने मोटरमार्ग, तिनखोले देवी मोटर मार्ग, मनकौरी मोटरमार्ग, जनसेवा मोटरमार्ग, कुम्ले नेरथुम मोटरमार्ग, कृति रजस्थल मोटरमार्ग, मनमोहन मोटरमार्ग, साखे गाछेपानी मोटरमार्ग, नमुना मोटरमार्ग, शुक्ला मोटरमार्ग, राधाकृष्ण मोटरमार्ग र मदन आश्रित मोटरलाई प्रमुख मार्गको रुपमा स्तरोन्नति गरिने योजना नगरपालिकाको रहेको छ ।
साथै नगर केन्द्र र वडा केन्द्र जोड्ने सडकहरू स्तरोन्नति गर्ने, आगामी ४ वर्षभित्र वडा कार्यालय जोड्ने सडक कालोपत्रे गर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म जाने बाटोलाई पहिलो प्राथमिकता राख्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ । वडा नम्बर १२ स्थित दुलेगौंडा लामागाउँ मोटरमार्ग स्तरोन्नतिका लागि ६० लाख, वडा नम्बर ६ स्थित तीनखोले देवी मोटरमार्गमा नाला निर्माणका लागि ४० लाख, वडा नम्बर ८/९ स्थित ढोरवाराही मन्दिर जाने बाटो नाला तथा पिचका लागि ६० लाख, वडा नम्बर ५ स्थित मनमोहन मोटरमार्ग नाला निर्माण ५ लाख, वडा नम्बर १ लालध्वज मोटरमार्ग स्तरोन्नतिका लागि ६० लाख, वडा नम्बर ३ स्थित दुलेगौंडा हर्कपुर मोटरमार्ग (वडा कार्यालयसम्म नाला तथा पिच) का लागि ५० लाख, वडा नम्बर ७ स्थित कुम्ले नुरेथुम मोटरमार्ग नाला निर्माणका लागि २० लाख, वडा नम्बर १० स्थित कृति रजस्थल मोटरमार्ग नाला निर्माणका लागि १० लाख, वडा नम्बर ५ स्थित मदन आश्रित मोटरमार्गका लागि १५ लाख र वडा नम्बर २ स्थित मनकौरी मोटरमार्ग नाला निर्माणका लागि लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ ।