कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५
391

जिल्लाका ९ वटा स्थानीय तहले आर्थिक वर्ष २०७४-७५ को अन्त्यसँगै सशर्त अनुदानतर्फको ५ करोड ८५ लाख ७३ हजार ५ सय ३९ रुपैयाँ फ्रिज भएको कोलेनिकाको तथ्यांकमा उल्लेख छ ।

दोलखा-दोलखामा गत आर्थिक वर्ष २०७४-७५ सबैभन्दा बढी बजेट खर्च गर्नेमा विगु गाउँपालिका र कम खर्च गरी बचाउने (डम्प) गर्नेमा मेलुङ गाउँपालिका परेको छ । सरकार सञ्चालनकै हैसियतको शक्ति प्राप्त गरेका दोलखाका स्थानीय तहको ३४ करोड रुपैयाँ बजेट खर्च हुन नसकेको हो ।
दोलखाका स्थानीय तहहरूले आर्थिक वर्ष २०७४-७५ को अन्त्यसँगै केन्द्रीय सरकारबाट प्राप्त गरेको वित्तीय समानीकरणतर्फको अनुदान र उसको आन्तरिक आयतर्फको आम्दानीसहित ३४ करोड खर्च खर्च गर्न नसकेका हुन् । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तहले वित्तीय समानीकरण अनुदानतर्फको २४ करोड १९ लाख १० हजार ५ सय २३ र आन्तरिक आम्दानीतर्फको ९ करोड ८७ लाख १९ हजार बजेट खर्च गर्न नसकेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) चरिकोटका प्रमुख कोष नियन्त्रक भिष्मप्रसाद न्यौपानेले दोलखाका स्थानीय तहले करिब १७ प्रतिशत वित्तीय समानीकरणतर्फको अनुदान खर्च गर्न नसकेको देखिएको बताए । न्यौपानेका अनुसार ती स्थानीय तहले आफ्नै आन्तरिक आय आम्दानीको बजेटसमेत करिब ९२ प्रतिशत खर्च गर्न नसकेको तथ्यांक देखिएको छ ।
वित्तीय समानीकरणतर्फको सबैभन्दा बढी बजेट बचाउनेमा मेलुङ गाउँपालिका रहेको छ भने शतप्रतिशत खर्च गर्नेमा विगु गाउँपालिका देखिएको छ । मेलुङ गाउँपालिकाले वित्तीय समानीकरणतर्फका १४ करोड ४० लाखमध्ये ५ करोड ६८ लाख ८२ हजार बजेट खर्च गर्न बाँकी छ । मेलुङ गाउँपालिकाले अघिल्लो वर्षको बचत समेत जोडेर चालू आर्थिक वर्षको बजेट बनाएको छ ।
मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले पहिलो वर्ष निर्वाचन, कर्मचारी अभाव लगायतका कारण कम खर्च भएको देखिए पनि चालू आर्थिक वर्षदेखि मुलुककै उत्कृष्ट गाउँपालिका हुने गरी काम गर्ने बताए ।
विगु गाउँपालिकाले १८ करोड ४० लाख ७५ हजार वित्तीय समानीकरणतर्फको बजेट शतप्रतिशत खर्च गरेको तथ्यांक कोलेनिकामा पेश गरेको छ । विगु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले पहिलो वर्षदेखि नै योजनाअनुसार काम भएकाले खर्च गर्न सफल भएको बताए । चालू आर्थिक वर्षमा पनि योजनाको तालिका बनाएरै काम भइरहेको उनले जानकारी दिए ।
त्यसैगरी भीमेश्वर नगरपालिकाले आन्तरिक आय आम्दानीबाट एक पैसा खर्च नगरी २ करोड ३६ लखा ४२ हजार नै बचत गरेको छ भने गौरीशंकर गाउँपालिकाको आन्तरिक आयबाट भएको आम्दानी ५२ लाख ७८ हजार ७ सय ८८ लाई शतप्रतिशत खर्च गरेको तथ्यांक छ । भीमेश्वर नगरपालिकाले ५ करोड ४१ लाख वित्तीय समानीकरणबाट नै बचत गरेको छ ।
वित्तीय समानीकरणतर्फबाट बजेट बचाउनेमा क्रमशः जिरी नगरपालिका ३ करोड ४६ लाख ७२ हजार, तामाकोसी गाउँपालिका ३ करोड, कालिञ्चोक गाउँपालिका २ करोड ३५ लाख, शैलुङ गाउँपालिका २ करोड ३२ लाख, गौरीशंकर गाउँपालिका २ करोड ३१ लाख र बैतेश्वर गाउँपालिका १ करोड ७० लाख ९२ हजार रहेका छन् ।
सशर्त अनुदान खर्च नभएपछि फिर्ता हुने र वित्तीय समानीकरणको रकम फिर्ता नहुने भएकाले पनि खर्च गर्न धेरै चासो नगरेको स्थानीयको आरोप छ । खर्च गर्ने प्रष्ट कानुनको अभाव, कर्मचारी अभाव, योजनाको अभाव र जनप्रतिनिधिको स्वदेश तथा विदेश भ्रमणप्रतिको मोहलगायतका कारण दोलखाका जनप्रतिनिधिले बजेट खर्च गर्न नसकेको स्थानीयको आरोप छ ।
जिल्लाका ९ वटा स्थानीय तहले आर्थिक वर्ष २०७४-७५ को अन्त्यसँगै सशर्त अनुदानतर्फको ५ करोड ८५ लाख ७३ हजार ५ सय ३९ रुपैयाँ फ्रिज भएको कोलेनिकाको तथ्यांकमा उल्लेख छ । जिल्लामा वित्तीय समानीकरणतर्फ १ अर्ब ४४ करोड १७ लाख बजेट विनियोजन भएकोमा १ अर्ब १९ करोड ९७ लाख मात्र खर्च भएको पाइएको छ ।

दिलबहादुर केसी