कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
420

बारा-माछापालनको उर्वरभूमि मानिएको बारामा यसवर्ष २ अर्ब ६३ करोड ७० लाख रुपैयाँ बराबरको माछा बिक्री भएको छ । बारामा १० हजार ३५ हेक्टरमा माछापालन गरिएको छ । बिक्री भएको मध्ये थप ३० प्रतिशत माछा भारतको आन्ध्र प्रदेशबाट आयात भएको अनुमान गरिएको छ ।
जिउँदो माछा व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगबहादुर साहले आगामी वर्ष बाराबाट करिब ३ अर्ब रुपैयाँ बराबरको माछा बिक्री हुने बताए । बाराको उत्पादनले मात्रै नेपालको ४५ प्रतिशत बजार ओगटेको भन्दै साहले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोनले राम्रोसँग काम गरे उत्पादन दोब्बर हुने दाबी गरे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन लागू भएको क्षेत्रमा मात्रै ६३ करोड ७० लाख रुपैयाँ बराबरको ३ हजार १८५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ ।
जिल्लामा १० हजार ३५ मेट्रिक टन माछा उत्पादन हुन्छ र ३ हजार १८५ मेट्रिक टन माछा सुपर जोनको कमाण्ड क्षेत्रमा उत्पादन हुने गरेको कृषि अधिकृत महतराम मौर्याले बताए ।
स्थानीय बजारमा भारतीय माछाको आयात अहिले रोकिएको छ । स्थानीय व्यापारीले जिउँदो माछा पोखरीबाट सोझै बजार पुराउन थालेपछि भारतीय माछाको आयात रोकिएको हो ।
जिल्लामा माछा सुपरजोन लागू भएपछि झन्डै २ हजार किसान लाभान्वित भएका छन् । सरकारले चालू आर्थिक वर्ष २०७५/७६ मा माछा उत्पादन वृद्धि गर्न ४ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
जिल्लामा करिब ६ हजार ६५ माछा पोखरी छन् भने ४७ सय घरघुरी प्रत्यक्ष सहभागी छन् । बारामा ८ प्रकारका माछा उत्पादन हुने गरेका छन् । नेपालमा खपत हुने ७० प्रतिशत माछा स्वदेशी उत्पादनले धानेको छ । अझै ३० प्रतिशत भारतमै निर्भर हुनुपरेको छ । सरकारको किसान केन्द्रित कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न सके तीन वर्षभित्रै माछामा आत्मनिर्भर हुन सकिने अध्यक्ष साहले बताए ।
बारामा उत्पादित माछा काठमाडौं, पोखरा, मलेखु, सिन्धुली, बनेपा, नेपालथोक, खुर्कोटलगायतका प्रमुख बजारमा पुराइने गरेको पाइन्छ ।