विपेन्द्र कार्की
बिहिवार, आश्विन २५, २०७५
774

दसैं हिन्दुहरूका लागि मात्र नभई अर्थतन्त्रका लागि पनि ‘दसैं’ नै मानिन्छ । वर्षैभरी व्यापार हुने कुल परिमाणको झन्डै ४० प्रतिशत यही सिजनमा कारोबार हुने भएकाले व्यापार व्यवसायका लागि पनि यो सिजनलाई दसैं नै मानिएको हो । अर्कोतर्फ आम्दानीका दृष्टिले पनि आम पेशाकर्मीसमेतका लागि यो सिजन अतिरिक्त आम्दानी अर्थात बोनसलगायतका कारणले ‘दसैं’कै रुपमा लिइन्छ भने विदेशबाट रेमिट्यान्स आप्रवाहका यही समयमा बढी हुने भएकाले तथा आर्थिक गतिविधि वृद्धि भएपछि राज्यको ढुकुटीमा सबैभन्दा बढी राजस्व जम्मा हुने भएकाले पनि यस सिजनलाई धार्मिक र साँष्कृतिक रुपमा मात्र नभै समग्र राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले पनि दसैंकै रुपमा लिने गरिन्छ ।
मुलुक पूर्ण संघीय संरचनामा गएको एक वर्ष पुग्नै लागेको छ । संघीयता भनेकै आर्थिक, राजनीतिक गतिविधि तल्लो तहबाटै हुन् सकुन् र त्यसका लागि स्थानीय जनप्रतिनिधिहरू नै स्वायत्त र स्वाबलम्बी हुन् भन्ने मान्यता हो । तर, दसैं यस्तो पर्व हो जसले राज्यका यी सबै आवश्यकताहरूको एकमुष्ट समाधान गर्दछ । अर्थात, दसैं अर्थतन्त्रको विकेन्द्रीकरणको सबैभन्दा महत्वपूर्ण र अनिवार्य कडी पनि हो । अघिपछि गाउँबाट निक्षेप संकलन गरेर सहरमा ल्याउने बैंक तथा वित्तीय संस्थाहरूले दसैंपछि पुनः गाउँ नै फर्कनुपर्छ किनकी दसैंले आर्थिक गतिविधि ग्रामीण क्षेत्रसम्म विस्तार गरेको हुन्छ ।

नेपाली अर्थतन्त्र त्यसै पनि सिजनल छ, पर्यटक आगमनदेखि कृषि उत्पादनसम्म यहाँ सिजनको ठूलो महत्व पनि छ । आम नेपालीले दसैंमा सबैभन्दा बढी किनमेल गर्छन् । दसैंंमा खर्च गर्नकै लागि भनेर वर्षैभरीको कमाइ जोहो गर्ने नेपालीको संख्या कम छैन भने ऋण गरेरै भए पनि दसैंं मनाउनुपर्छ भन्ने मान्यता नयाँ होइन । नयाँ लुगा लगाउने र मिठो खाने मात्र नभइ घर सजाउने र केही न केही नयाँ खरिद गर्ने प्रचलन भएकाले दसैंंलाई अर्थतन्त्रको महाउत्सव भन्न सकिन्छ । आम सर्वसाधारणले एकैपटक ठूलो परिमाणमा वस्तु तथा सेवा खरिद गर्ने भएकाले व्यापार व्यवसाय पनि गुलजार हुने गरेको पाइन्छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको अनुभवमा दसैंंका आसपासका तीन महिनामा मात्र वर्षभरी हुने कुल व्यापारको ४० प्रतिशत खरिद बिक्री हुने गर्दछ । ठूलो परिमाणमा एकैपटक व्यापार हुने भएकाले व्यापारीहरूको उत्साह मात्र नभइ सरकारको राजस्वमा पनि योगदान पुग्छ नै । श्रेष्ठका अनुसार बढी आम्दानी हुनेले पुरानो गाडी विक्री गरेर नयाँ बिलासी खरिद गर्नेदेखि मोटरसाइकल चढ्नेले मध्यमस्तरका गाडी खरिद यही बेला गर्छन् भने न्यून आय हुनेले लत्ताकपडादेखि खाद्यान्नसमेत खरिद गर्दछन् । “दसैंंका बेला कसैले खाली बस्दैन केही न केही त नयाँ खरिद गर्छ नै,” उनी भन्छन्, “दसैंं सर्वसाधारणको लागि मात्र दसैं होइन, हामीजस्ता व्यापार व्यवसाय गर्नेहरूका लागि पनि दसैंं हो ।” विदेशमा हुनेले पनि दसैंमा परिवारलाई खर्च अन्य समयको तुलनामा बढी पठाउने हुँदा रेमिट्यान्सको ‘फ्लो’ पनि बढ्ने उनी बताउँछन् ।
दसैंंका बेला अन्य पर्वमा भन्दा स्वदेशी बस्तुको पनि बढी नै खपत हुन्छ । आम किसानले पालेका खसीबोकादेखि उत्पादन गरेका खाद्यान्न र तरकारीको बढी प्रयोग हुने भएकाले यो पर्व स्वदेशी उत्पादकहरूका लागि पनि महत्वपूर्ण छ । तर, बिलासी गाडी, मोबाइल टिभीजस्ता इलेक्ट्रोनिक्स सामग्री तथा सुनलगायतका वस्तुहरूको विक्री पनि बढ्ने भएकाले स्वदेशी उत्पादनको विक्री बढे पनि आयात झन् बढी हुने देखिन्छ ।
यस्तै, दसैंंमा अत्यधिक खपत हुने तयारी पोशाक र जुत्ता चप्पलको स्वदेशी उत्पादनसमेत न्यून रहेकाले आयातमै भर पर्नुपर्ने अवस्था छ । पछिल्लो समय जुत्ताचप्पलमा नेपाल आत्मनिर्भरताको नजिक पुगिसकेको व्यवसायीहरूले दावी गरे पनि आयात घट्न सकेको छैन । राजधानीको एकमात्र प्रदर्शनीस्थल भृकुटीमण्डपमा पनि दसैंलाई लक्षित गरी विभिन्न मेलाहरू सञ्चालन भइरहेका छन् भने राजधानीबाहिर पनि यस्ता थुप्रै मेला सञ्चालनमा छन् ।
नेपाली अर्थतन्त्रलाई नजिकबाट नियालेका अर्थशास्त्रीहरूका अनुसार दसैंंको दुई साताको अवधिमै नेपालीहरूले कुल उपभोगको करिब २० प्रतिशत उपभोगमा खर्च गर्छन् भने दसैंं र तिहारको खर्च जोड्ने हो भने करिब २५ प्रतिशत हुन आउँछ । ३० खर्ब रुपैयाँ बराबर रहेको नेपाली अर्थतन्त्रका लागि दसैंं र यसलगत्तै आउने दुई महत्वपूर्ण पर्वहरू तिहार एवं छठ निकै नै महत्वपूर्ण पनि छन् । दसैंंको १५ दिनमा हुने खर्च सामान्य अवस्थामा झन्डै तीन महिना हुने खर्चबराबर हुने अनुमान गरिन्छ । दसैंंमा अर्कोतर्फ मनोरञ्जन र यात्रामा पनि ठूलो खर्च हुने गरेको छ । दसैंं सुरु हुनु एक महिनाअघिदेखि सार्वजनिक सवारीका सिट ‘प्याक’ भइसकेका छन् भने हवाइ अकुपेन्सी पनि झन्डै शतप्रतिशत छ । दसैंंपछिका केही सातासम्म यो क्रम जारी नै रहने देखिन्छ भने पछिल्ला दिनमा निजी सवारी साधनको उपयोग पनि उत्तिकै हुन थालेको छ ।
आम सर्वसाधारण एक स्थानबाट अर्कोतर्फ जाँदा यसले अर्थतन्त्रलाई नै ‘भाइब्रेन्ट’ बनाउनेमा द्विविधा छैन । ट्राफिक प्रहरीको अनुमानअनुसार दसैंंका बेला करिब ३० लाख मानिस राजधानीबाट बाहिरिन्छन् भने झन्डै त्यत्तिकै संख्यामा अन्य सहरी क्षेत्रबाट अर्कोतर्फ आवतजावत गर्दछन् । यसले दसैंंमा यातायात व्यवसायीले पनि छुट्टै ‘दसैंं’ आएको महसुस गर्दछन् ।
दसैंं अर्थतन्त्रको सबैभन्दा राम्रो पक्ष के हो भने दसंैको खर्च मूलतः गाउँकेन्द्रित हुन्छ । अर्थतन्त्रको केन्द्रबिन्दु सामान्य अवस्थामा सहर र सहरोन्मुख क्षेत्र भए पनि यो बेला अर्थतन्त्र साँच्चै बिकेन्द्रीत हुन्छ । त्यसो त यस वर्ष २ दशकपछि भएको स्थानीय तह निर्वाचन र आसन्न संघीय र प्रादेशिक निर्वाचनले सहर र गाउँबीचको दूरी त्यसै पनि छोटिँदैछ, त्यसैले राजनीतिक रूपमा पनि यस वर्षको दसैंं निकै महत्वपूर्ण हुने देखिन्छ । दसैंंको खर्च गाउँ केन्द्रित हुनु भनेको ग्रामीण अर्थतन्त्र विकासका लागि कोशेढुंगा नै हो ।
पछिल्ला दिनहरूमा आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेकाले क्रयशक्ति बढेको छ । उनीहरूको खर्च बढ्नु बढेको अर्थतन्त्रका लागि उत्साहको सूचकसमेत हो । पछिल्लो समय नेपालीहरूको प्रतिव्यक्ति आम्दानी एक वर्षमै उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष ८६२ अमेरिकी डलर रहेको नेपाली नागरिकको प्रतिव्यक्ति आम्दानी एक वर्षमै १ हजार अमेरिकी डलर नाघेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा उपभोक्ता र व्यवसायी दुवैका लागि दसैं उपयुक्त अवसर भएको बताउँछिन् । खाने, लगाउने, पिउनेदेखि उपहारका सामानहरू दसैंंमा धेरै किन्ने नेपाली प्रवृत्ति रहेकोले यसले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । “अहिले सवैतिर यतिउति छुट भनेर लेखेको पाइन्छ, यसले उपभोक्ता मात्र नभएर व्यापारीलाइ पनि व्यापार गर्ने अवसरको रूपमा दसैं रहेको पाइन्छ,” अध्यक्ष राणा भन्छिन्, “अटोमोबाइल, फर्निचर, घर सजावट, कपडा, पूजा सामग्रीको बढी किनमेल यो बेला हुन्छ ।”
दसैंले गाउँको अर्थतन्त्रमा सुधार ल्याउने अध्यक्ष राणाको भनाइ छ । दसैंंमा गरिने खर्चको मुख्य स्रोत भनेको वर्षभरिको बचत, तलब तथा भत्ता, ज्याला एवं विप्रेषण नै हुन् । दसैंंका लागि भनेर भदौदेखि नै विदेशमा बस्ने नेपालीले विप्रेषण बढी पठाउने गरेको पाइन्छ भने सरकार र निजी क्षेत्र दुवैले कर्मचारीलाई दसैंंभत्ताबापत अतिरिक्त सुविधा उपलब्ध गराउँछन् । हाल औपचारिक क्षेत्रमा करिब ४ लाख कर्मचारी रहेको र अनौपचारिक क्षेत्रमा त्यसको दोब्बरभन्दा बढी करिब १० लाख कर्मचारी रहेको अनुमान छ । दसैंंको उपभोगमा पछिल्लो समय रेमिट्यान्सको ठूलो भरथेग देखिने अर्थशास्त्रीहरू बताउँछन् ।
दसैंंमा हुने अत्यधिक खर्चले भने दसैंंपछिको महिनामा बजारमा मूल्य वृद्धि हुने गरेको देखिन्छ । यस्तै, राष्ट्रबैंकले पनि दसैंंको लागि नयाँ नोट बजारमा ल्याउने र बैंक तथा वित्तीय संस्थाबाट पनि बढी रकम बाहिरिने हुनाले बजारमा अत्यधिक तरलता हुने गरेको छ । दक्षिणाका रूपमा प्रयोग हुने नयाँ नोट उपयोग गर्ने आम नेपालीको रुचि हुने गरेको पनि पाइन्छ । दसैंका लागि सवैजसो व्यापार व्यवसायले सानो होस या ठुलो कुनै न कुनै छुट योजना ल्याएका हुन्छन् ।
ठूला चाडपर्वहरूमा बजारमा आउने नगदको झन्डै ८० प्रतिशत उपभोगमा खर्च हुने बताइन्छ । दसैंमा मात्रै झन्डै ३० अर्ब रुपैयाँको मासु खपत हुने र ३० अर्ब रुपैयाँबराबरकै लत्ताकपडा तथा जुत्ताको व्यापार हुने आकलन छ ।
विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिटेन्स पठाउने गर्दा दसैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिटेन्स आउने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउने गरेको छ । राष्ट्र बैंककै पछिल्लो अध्ययनले रेमिट्यान्स प्राप्त गर्ने घर परिवारको बचत तथा लगानी गर्ने प्रवृत्तिसम्बन्धी घरधुरी सर्भेक्षण तथ्यांकले करिब ८० प्रतिशत उपभोग र जग्गा खरिदमै सकिने गरेको देखाएको छ । त्यसमध्ये ३१ प्रतिशत खाद्यान्न खरिदमा सकिने गरेको छ । ३.९ प्रतिशत मात्र वचत हुने देखाएको छ ।
दसैंका बेला बढी खरिदबिक्री हुने वस्तुहरूमा खाद्यान्न, माछामासु, सञ्चार उपकरण, रेडियो÷टीभी, सवारी साधनलगायतका वस्तु बढी हुन्छन् । विदेशबाट फर्कनेहरूले पनि मोबाइल, टिभीलगायत सामान लिएर आउँछन् । यीमध्ये खाद्यान्न माछामासु स्वदेशमै उत्पादन हुने र अन्य सामग्री विदेशबाट आयात भए पनि उपभोगमा भने ग्रामीण क्षेत्र नै अगाडि छ ।