कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
338

झापा-चाडपर्वको वहानामा व्यापारीले आफूखुशी उपभोग्य वस्तुको मूल्यवृद्धि गरेपछि झापाका उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, सागसब्जी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएकाले उपभोक्ता मारमा परेका हुन् । उपभोक्ता ठगिने क्रम बढे पनि नियमकारी निकाय भने मौन छ । नियमनकारीको मौनताको फाइदा उठाउँदै व्यापारीले आफू खुशी मूल्यवृद्धि गरिरहेका छन् ।
पछिल्लो समय दालमा २० प्रतिशत र तरकारीमा ३५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ । झापाको बिर्तामोडमा रहेका पसलमा चिनीको मूल्य फरक–फरक पाइन्छ । बिर्तामोडको नवीन किराना पसलमा ७० रूपैयाँमा पाइने चिनी, शुभ स्टोर बिर्तामोडमा ७५ रूपैयाँमा बिक्री हुन्छ । त्यही चिनी महालक्ष्मी किराना पसल बिर्तामोडमा ८० रूपैयाँसम्म बिक्री गर्ने गरेको महालक्ष्मी किराना पसलका सञ्चालक बताउँछन् । बिर्तामोडको कृषिथोक बजारमा रहेका कमला भण्डारी र हरि साहको पसलमा मस्याङ दालको मूल्यमा फरक पाइन्छ । यस तथ्यले व्यापारी आफैंले मूल्य निर्धारण गरिरहेको देखाउँछ ।

मूल्यवृद्धिका कारण जीवन गुजारा गर्न समस्या भएको झापा सुरुङ्गाकी कोपीला कार्कीले बताइन् । दाल, चिनी, तरकारी सबै खाद्यान्न सामानको भाउ छोइ नसक्नु भएको कार्की बताउँछिन् । “तरकारी लिन सुरुङ्गादेखि बिर्तामोडसम्म आएँ केही समय अगाडि ३० रूपैयाँ केजीमा किनेको गोलभेंडाको मूल्य ५० रूपैयाँ पुगेछ,” उनले भनिन्, “सामान्य आयस्रोत भएका मानिसले तरकारीले किनेर खानै नसक्ने अवस्था आएको छ ।” व्यापारीका अगाडि सरकार निरिह बनेका कारण मूल्यवृद्धिले अकाश छोएको कार्कीले बताइन् । सरकारले अनुगमन गर्न नसक्दा व्यापारीले मान्छे हेरेर मूल्य लिने गरेको उनको भनाइ छ ।
बिर्तामोड नगरपालिकाका केदारनाथ खतिवडा मूल्यवृद्धि हुनुमा सरकारको कमजोरी भएको बताउँछन् । दैनिक उपभोग्य सामानको मूल्य निर्धारण स्थानीय सरकारको मातहतमा हुनुपर्ने खतिवडाको माग छ । कालोबजारी गर्नेलाई कानुनको दायरामा ल्याउन नसक्नाले उपभोक्ता ठगिने क्रम बढेको उनले बताए । ठूला व्यपारी र सरकारका कारण सुपथ मूल्यका पसल पनि सञ्चालनमा आउन नसकेकाले मूल्यवृद्धि अस्वाभाविक बढेको दुखेसो खतिवडाले बताए । “उपभोक्तालाई समस्या नै समस्याले घेरेको छ,” उनले भने, “खाद्यान्न, लत्ताकपडा सबै वस्तुको मूल्य बढेकाले चाडपर्व खर्चिलो बन्दै गएका छन् ।”
बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रसासनिक अधिकृत पशुपति खतिवडाको संयोजनमा नगरले बजार अनुगमन समिति बनाएको बताए । “नगरले सम्बन्धित सबै सरोकारवालालाई समेटेर अनुगमन टोली बनाएको छ,” प्रमुख सिवाकोटीले भने, “मूल्यवृद्धिको फाइदा उठाएर व्यापारीले मनपरी मूल्य लिने गरेका छन्, त्यसतर्फ नगरको ध्यान गएको छ ।” अनावश्यक मूल्यवृद्धि गर्नेलाई नियमअनुसार सजायको भागेदार बनाउने शिवाकोटीले बताए । बिर्तामोड नगरपालिकाले बुधबारबाट बजार अनुगमन सुरु गरेको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले पहिलो चरणमा नगरको मातहतमा बनेको अनुगमन समितिसँग मिलेर अनुगमनमा निस्केको बताए । स्थानीय सरकार, खाद्यान्न विभाग, उपभोक्ता मञ्च सबै मिलेर बजार अनुगमन सुरु गरेको उनले जानकारी दिए ।

मनिषा चम्लागाईं