भुवन पौडेल
शुक्रवार, आश्विन २६, २०७५
899

आक्रामक कर्जा प्रवाहले बैंक हतासमा
बैंकहरूले आर्थिक वर्षको पहिलो त्रैमासमै आक्रामक रूपमा कर्जा प्रवाह गरेपछि विगतको जस्तै तरलता अभावको समस्या दोहोरिने संकेत गरेको छ । कर्जा प्रवाहपछि निक्षेप खोज्ने प्रचलनले यो वर्ष पनि कर्जा लगानीयोग्य रकम (तरलता) अभाव हुने देखिएको हो ।

पछिल्लो समयमा बैंकहरूले निक्षेपलाई नहेरी आक्रामक रूपमा कर्जा सम्झौता गर्दै हिँडेपछि ब्याजदर समेत बढ्यो । नेपाल बैंकर्स संघका सदस्य बैंकहरूले निक्षेप ११ प्रतिशतभन्दा धेरै ब्याजदर नदिने भद्र सहमति तोडिएपछि बिहीबार पुनः संघका सम्पूर्ण सदस्यसहितको बैंठकले पुनः व्यक्तिगत निक्षेपलाई १०.५ र संस्थालाई १० प्रतिशत ब्याजदर दिने सहमति भएको छ । विगतमा कर्जायोग्य रकमको अभाव भएकाले यसपछि पनि हुनसक्ने भन्दै बैंकहरू आत्तिएका हुन् ।
बैंकहरूलाइ कर्जा लगानीयोग्य रकम कसिलो हुने देखेपछि निक्षेप तान्नका लागि केही बैंकले भद्र सहमतिभन्दा माथि ब्याजदर दिएको लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । स्रोतलाई विश्लेषण नगरी कर्जा प्रवाह गर्दा समस्या बढ्ने भएकाले होसियार भएर कर्जा लगानी गर्नुपर्ने उनले बताए । “ब्याजदर घटाउँदा वा स्थिर राख्दा तरलता बढ्छ भन्न खोजेको होइन,” उनले भने, “निक्षेपको ब्याजदर ‘रिजनेबल’ भएको खण्डमा कर्जामा पनि त्यहीअनुसार लिने भएकाले केही घटाएको हो ।” मुद्दती निक्षेपका साथै बचतमा पनि अधिकतम ७ र न्यूनतम ५ प्रतिशतको सहमति गरेको खालिङले जानकारी दिए । बचतमा पनि सबै योजनाहरूमा ७ प्रतिशत नै नराख्ने सहमति भएको उनले बताए । “यो सहमति कार्यन्वयन भएपछि आधार ब्याजदरमा चाप पर्दैन,” उनले भने ।
पछिल्लो समयमा केहि बैंकहरूको कर्जा लगानीयोग्य रकम अभाव भए पनि ११ प्रतिशतभन्दा माथिको ब्याजदरमा निक्षेप लिएपछि बैंकहरूले सहमति गरेका हुन् । विगतमा आर्थिक वर्षको दोस्रो त्रैमासमा देखिएको समस्या चालू आवको पहिलो त्रैमासमा नै देखिएको खालिङको भनाइ छ ।
हाल वित्तीय प्रणालीमा नगद सञ्चिती अनुपातको रकम बाहेक ३८ अर्ब अधिक तरलता छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले निक्षेप संकलन गर्नभन्दा पनि कर्जा विस्तारमा जोड दिएकाले कर्जा लगानीयोग्य रकमको कमी देखिन थालेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए । “बैंकहरूले कर्जा प्रवाहमा ‘फोकस’ गर्दा आधार ब्याजदर भन्दा कममा लगानी गरेका छन्,” ती अधिकारीले भने, “अर्थतन्त्रको आवश्यकताअनुसार बैंकहरूले लगानी गर्दा अहिले मात्र नभै दिर्घकालिन समस्या पनि देखापर्न सक्छ ।”
बैंकहरूले पछिल्लो समयमा नाफा धेरै हुने क्षेत्र खोज्दा सेयर बजार र रियल इस्टेटमा लगानी वढाउन थालेका छन् । बैंकहरूले उक्त क्षेत्रमा लगानी बढाउँदा वित्तीय प्रणालीमा समस्यामात्र नभइ अर्थतन्त्रमा पनि योगदान नहुने केन्द्रीय बैंकका अधिकारीको भनाइ छ । बैंक वित्तीय संस्थाको बाहुल्यता रहेको सेयर बजारमा बैंकहरूवाट नै कर्जा लिएर लगानी गर्ने प्रचलनले राम्रो भने हुदैन । त्यसैले बैंकहरूले कर्जा विस्तार सचेत हुनु पर्ने अवस्था रहेको छ ।
बैंकहरूले निक्षेपको ब्याजदर समान्य घटाउने सहमति गरेका छन् । तर, कर्जाको ब्याजदरको सन्दर्भमा खासै ध्यान दिइएको देखिँदैन । बैंकहरूले निक्षेपमा थोरै ब्याजदर दिएपछि कर्जामा पनि ब्याजदर कम गर्नुपर्छ । बैंकरहरूको ब्याजदर घटाउने सहमति कर्जामा कार्यान्वयन भए सर्वसाधाणले पनि त्यसको महसुस गर्न सक्छन् ।