घनश्याम पौडेल
बुधवार, कार्तिक २१, २०७५
337

अर्घाखाँची-बजारमा यसवर्ष अदुवाको राम्रो मूल्य पाएपछि अर्घाखाँचीका अदुवाखेती गर्ने किसान उत्साहित बनेका छन् । नगदे बालीको रूपमा रहेको अदुवा उत्पादन गरेर वर्षौंदेखि जीविका चलाउँदै आएका कृषक यस वर्ष अदुवाले बजार र राम्रो मूल्य पाएपछि खुसी भएका हुन् । पाणिनी गाउँपालिका–५ मैदान अमजाका विष्णु घिमिरेले गत वर्ष प्रतिकिलो ८ रुपैयाँमा बिक्री भएको अदुवाले अहिले भने राम्रो मूल्य पाएको बताए ।
गतवर्ष उत्पादन लागत समेत उठाउन नसकेका किसानले यस वर्ष नयाँ अदुवा प्रतिकेजी ४० रुपैयाँमा बिक्री गर्न थालेका छन् । पुरानो अदुवा प्रतिकेजी ८० रूपैयाँमा बिक्री भइरहेको किसानहरू बताउँछन् । पाणिनीको तल्लो अमजा र लरधारा अदुवाको पकेट क्षेत्र मानिएको छ । यहाँबाट मात्रै एक सय क्विन्टल अदुवा उत्पादन भएको स्थानीय कृषक यमलाल गैरेले बताए । गतवर्ष निरास भएर अदुवा खेती कम गरेका यहाँका कृषक अहिले उत्साहित भएका छन् ।

पकेट क्षेत्रका अधिकांश कृषकको पुख्र्यौली पेसाका रूपमा रहेको अदुवाखेतीलाई उनीहरूले हालसम्म व्यावसायिक रूपमा आम्दानीको स्रोत बनाउँदै आए पनि हरेक वर्ष उत्पादन भएको अदुवाले बजार नपाउने गरेको कृषकहरूको गुनासो छ । “पहिला कृषकलाई अदुवा लगाउन र बेच्ने चटारो हुन्थ्यो, यस वर्ष पनि अदुवा खरिद गर्न गाउँमै व्यापारी आएका छन्,” अमजाका थानिश्वर घिमिरेले भने, “गतवर्ष अदुवा बिक्री नभएर बारीमै कुहिएको थियो, अहिले बारीबाटै बिक्री भएको छ ।” हरेक वर्ष भाउ राम्रो आएमा उत्पादन धेरै नै गर्न सकिने उनले बताए ।
भारतले अदुवा उत्पादन बढाएसँगै यहाँ उत्पादित अदुवाले मूल्य पाउन छाडेको थियो । नेपालमा पनि भारतबाटै सस्तोमा खरिद गरेर नेपाली उपभोक्ताले अदुवा उपयोग गर्ने गरेका थिए । तर यस वर्ष यहाँका किसानको बारीमै व्यापारीहरू अदुवा खरिदका लागि पुग्न थालेका छन् ।
कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत थिरलाल गैरेले अदुवाले बजार नपाउँदा कृषक चिन्तित हुने गरेको बताए । जिल्लाको मैदान, पटौटी, जलुके, जुकेना, सिमलपानी, सिद्धारा, सुवर्णखाल, चिदिका, असुरकोट अदुवा खेतीका लागि पकेट क्षेत्र हो । जिल्लाभर गतवर्ष ४०० हेक्टर क्षेत्रफलमा ३ हजार ९ सय ६८ मेट्रिक टन अदुवा उत्पादन भएको छ ।

रुकुमका किसान पनि दंग
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले उत्पादन गरेकोे अदुवाले यसवर्ष राम्रो बजार भाउ पाएको छ । गतवर्षको तुलनामा भन्दा यो वर्ष यहाँका किसानले उत्पादन गरेको अदुवाले दोब्बर भाउ पाएको हो । गएको वर्ष प्रति क्विन्टल १७ देखि १८ सयमा बिक्री हुने गरेको अदुवाले यसवर्ष ४ हजार रूपैयाँसम्मको बजार भाउ पाएको किसानले बताएका छन् ।
अदुवाका लागि पकेट क्षेत्र मानिने खारा, मुरु, पेउघा, नुवाकोटलगायत छिमेकी जिल्ला सल्यान बाँफूखोलाका किसानसमेत अदुवाले राम्रो बजार भाउ पाउँदा खुशी भएका छन् । गतवर्ष यहाँका किसानले उत्पादन गरेको अदुवाले सोचेजस्तो बजार भाउ नपाउँदा केही किसानले घरमै अदुवा थन्काएर राख्नुपरेको थियो । तर यो वर्ष अदुवाको सिजन सुरु भएसँगै बजार भाउ राम्रो भएकाले गतवर्षको घाटा पूरा हुने वडा नम्बर –६ का किसान पदम पुनले बताए । “यसपटक अदुवाको भाउ दोब्बरले बढेको छ, यसले हामी जस्ता किसानलाई थप खुशी बनाएको छ,” उनले भने । वर्सेनि १५ क्विन्टलसम्मको अदुवा उत्पादन गर्दै आएका पुनले यसवर्ष आफ्नो परिवारले गरेको मेहनत खेर नजाने बताए ।
विशेष गरेर त्रिवेणी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, र ७ का किसानले सबैभन्दा बढी अदुवा उत्पादन गर्ने गर्दछन् । प्रतिघर १० देखि १५ क्विन्टलसम्म अदुवा उत्पादन हुने र त्यसबाटै घरपरिवार धान्न सजिलो हुने स्थानीय चोपलाल खड्काको भनाइ छ । गतवर्ष यस क्षेत्रबाट १ करोड १७ लाख बराबरको अदुवा देश तथा विदेशका विभिन्न ठाउँमा निर्यात भएको थियो । बिक्री नभएको अदुवाको भने यहाँका किसानले सूटो (मसलाको रूपमा प्रयोग हुने) बनाएर स्थानीय बजारमा बिक्री गरेका थिए ।
यहाँका किसानले उत्पादन गरेको अदुवा संकलनका लागि हाल घरआँगनमै व्यापारीले प्रतिकिलो ४० रूपैयाँमा खरिद गर्न सुरु गरेका छन् । देशका विभिन्न ठाउँबाट अदुवाको माग बढ्दै गएपछि किसानको घरसम्म पुगेर अदुवा संकलन गरिएको स्थानीय व्यापारी धनवीर ओलीको भनाइ छ । उनका अनुसार किसानबाट खरिद गरिएको अदुवा प्रतिकिलो ५० रूपैयाँका दरले बिक्री भइरहेको छ । केही दिन अघि मात्र किसानबाट खरिद गरिएको ४० ट्रक अदुवा जिल्ला बाहिर निर्यात गरिएको ओलीले बताए । यसक्षेत्रको अदुवा दाङ, नेपालगन्ज, बुटवल, कृष्णनगर, काठमाडौं तथा भारतको गोरखपुर र कानपुरसम्म निर्यात हुने गरेको व्यापारीले बताउँदै आएका छन् । अदुवा उत्पादनका हिसाबले जिल्लामै पकेट क्षेत्र मानिएको त्रिवेणी गाउँपालिकाबाट बर्सेनि ३ टनभन्दा बढी अदुवा उत्पादन हुने गर्दछ ।
 मेगराज खड्का