कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
372

तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य अस्वाभाविकरूपमा बढेको छ । तिहारको समयमा व्यवसायीले भाइमसलामा २० प्रतिशतसम्म मूल्य बढाएका हुन् । थोक मूल्य बढेर आएकाले बजारमा मसलाको मूल्य बढेको व्यवसायीको भनाइ छ ।
तिहारमा ल्वाङ, सुकमेल, मिश्री, छोकडा, किसमिस, काजु, बदाम, ओखर, अन्जिर, खुर्पानी, दालचिनी, सुपारी, मखनालगायतका मसलाजन्य सामग्रीको बढी बिक्री हुने गरेको छ । सडक पेटीदेखि डिर्पाटमेन्टल स्टोरसम्म बिक्रीका लागि मसला राखिएको छ । असनका व्यवसायी सन्दिप क्षेत्रीले गत वर्षको तुलनामा भाइमसलामा २० प्रतिशतसम्म मूल्य बढेको बताए । थोक मूल्य नै बढेर आएकाले बजारमा भाइमसलाको मूल्य बढेको उनले जानकारी दिए । तिहारमा प्रयोग हुने अधिकांश भाइमसला विदेशबाट आउने गरेको छ । खपत बढी हुने समय भएकाले त्यसैको मौका छोपेर व्यापारीले यसको मूल्य अत्यधिक बढाएको उपभोक्ताको गुनासो छ ।
व्यवसायीका अनुसार प्रतिकिलो किसमिसमा २ सय ५०, सुकुमेलमा ७ सयदेखि १ हजार २ सयसम्म, बदाममा २ सय र पेस्तामा ५ सय रूपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, नरिवलमा १ सय ७५, मखनामा ७ सय, ल्वाङमा १ सय २५, खुरपानीमा ३ सय र ओखरमा २ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको छ । न्यूनतम् एक सय रूपैयाँदेखि दुई हजारसम्मका मसलाका प्याकेट बिक्रीका लागि राखिएको छ ।