कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५
373

अर्थतन्त्रका जोखिमलाई ध्यानमा राखेर राष्ट्रिय योजना आयोगले आर्थिक पूर्वसूचना प्रणाली (इकोनोमिक अर्लिवार्निङ सिस्टम) विकास गर्ने भएको छ । वित्तीय क्षेत्रमा आउन सक्ने जोखिमको पूर्वानुमान गरी मुलुकलाई संभावित वित्तीय संकटबाट जोगाउने उद्देश्यले यो प्रणालीको विकास गर्न लागिएको योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले बताए ।
राष्ट्रिय योजना आयोगले एसियाली विकास बैकका विज्ञहरूको सहभागीतामा तिहारअगावै २ दिन छलफल भएको जानकारी दिँदै उनले यस प्रणालीले अर्थतन्त्रको संरचनामा आउनसक्ने फेरबदल, बाह्य क्षेत्रले पार्नसक्ने प्रभाव र त्यसका लागि लिनुपर्ने नीतिहरूबारे सरकारलाई सुझाव दिने पनि बताए ।

उनका अनुसार योजना आयोगमातहत रहने यो प्रणालीले समष्टिगत अर्थतन्त्रका सूचकमा भइरहने उतारचढाव र त्यसले नेपालमा पार्नसक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभाव र जोगिन अपनाउनुपर्ने उपायहरू सरकारलाई सिफारिस गर्नेछ । आयोगले यो प्रणालीमार्फत गर्न सकिने काम, यसले समेट्ने क्षेत्रहरू र अन्तर्राष्ट्रिय अभ्यासबारे विभिन्न देशका अर्थशास्त्री एवं योजनाविद्सँग छलफल गरी ८ महिनामा मस्यौदा तयार गर्ने पनि उनले जानकारी दिए ।
“त्यसपछि यस प्रणालीलाई हाम्रो सिष्टममा नै समावेश गराइने छ,” उनले भने ।