मीनकुमार नवोदित
शुक्रवार, पुष २७, २०७५
464

विराटनगर-भन्सार कार्यालयमा हुने ढिलासुस्तीको समस्या तत्काल समाधान गर्न पूर्वका उद्योगीहरूले सरकारसँग माग गरेका छन् । ढिलासुस्तीका कारण उद्योगीले निकै नै समस्या झेल्नुपरेको उद्योगीहरूको भनाइ छ ।
उद्योग संगठन मोरङले बिहीबार भन्सार विभागका महानिर्देशक तोयम रायाको उपस्थितिमा गरेको अन्तक्र्रियामा उद्योगीहरूले भन्सार कार्यालयमा हुने ढिलासुस्तीले आयात–निर्यातमा समस्या भएको गुनासो गरे । संगठनका अध्यक्ष भीम घिमिरेले भने, “आयात–निर्यातमा निकै समस्या भयो, भन्सारको ढिलासुस्ती छिट्टै समाधान गरियोस् ।”

संगठनका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेलले समग्रमा उद्योगीका समस्या राख्दै भन्सारको काम कारबाही छिटोछरितो हुनुपर्ने, उद्योगमा आयात गरिएका सामान खन्याएर मालबाहक गाडी दुई दिनमा फर्कनुपर्नेमा ६ दिनसम्म विलम्ब हुने अवस्था रहेको बताए । उनले कर्मचारी बढाएर भए पनि भन्सारमा हुने विलम्बको अन्त्य गर्नुपर्नेमा जोड दिए । बारम्बार लिंक फेलियर हुँदा निकासी पैठारीमा आउने अवरोध हटाइनुपर्ने र भन्सार क्षेत्रमा एउटा वाणिज्य बैंकमात्र रहेकाले अरु थप गर्न प्याकुरेलले माग गरे । “अहिलेको जमानामा पनि भन्सारमा प्रक्रिया पूरा गरेर सामान ल्याउन झण्डै एक हप्ता लाग्छ,” उनले थपे, “यसले उद्योगी व्यवसायी निकै मारमा परेका छन् ।” यसरी ढिलासुस्ती हुँदा ढुवानीसँगै अन्य लागतसमेत बढ्ने गरेको उनको भनाइ छ ।
संगठनका निवर्तमान अध्यक्ष मुकेश उपाध्यायले चाइनिज सामानबाहक ट्रकलाई बढी प्राथमिकता दिइँदा भन्सारमा उद्योगका कच्चापदार्थदेखि अन्य सामान ल्याउने मालबाहक ट्रक रोकिने गरेको बताए । संगठनका उपाध्यक्ष प्रदीप मुरारकाले आयात निर्यात र उद्योगतर्फका लागि अलग्गै जाँचकी अधिकृतको व्यवस्था गर्न सुझाव दिए । “जनशक्ति थप भए काम छरितो हुन्छ,” उनले भने, “भन्सार फुकुवा गरिसकेपछि फेरि भ्याट फुकुवाको झन्झटले अधिक समय लाग्ने गरेकाले एउटै पासबुक राखिदिए सहज हुने थियो ।” उद्योगी सुरेन्द्र गोल्छाले समस्याबारे लिखित जानकारी गराउँदासमेत भन्सार कार्यालयबाट त्यसबारे सुनुवाई नहुने गरेको गुनासो पोखे । उनले भने, “गुनासो राख्दाराख्दा थाकिसकियो, सुनुवाइ नै हुँदैन ।”
उद्योगी विपिन काबराले भारतको मिरगञ्ज पुललाई वर्ष सुरु हुनुअघि नै पूर्ण मर्मत गर्न भारत सरकारसँग पहल गर्न माग गरे । महानिर्देशक रायाले सरकार नयाँ भन्सार ऐन ल्याउने तयारीमा रहेको र यो अन्तर्राष्ट्रियस्तरको हुने बताए । “नयाँ मापदण्ड र अन्तार्राष्ट्रिय मापदण्डअनुसार नै नयाँ कानुन आउनेछ,” उनले भने, “यसले धेरै विषयको सम्बोधन हुनेछ ।” भन्सार ऐन आइसकेपछि उद्योगीका धेरै समस्या समाधान हुने उनको दाबी थियो ।
यस्तै महानिर्देशक रायाले सीमामा थप पाँचवटा भन्सार बिन्दू थप गर्न दुवै देशबीच सहमत भइसकेको जानकारी गराए । झापाको भद्रपुर र गौरीगञ्ज, मोरङको रंगेली वा मायागञ्ज, रौतहटको बंकुल र कञ्चनपुरको बेलौरीमा नयाँ भन्सार बिन्दु खोल्ने विषयमा दुवै देश सहमतिको नजिक पुगेको उनले जानकारी दिए । उनका अनुसार नेपाल–भारत वाणिज्य सन्धिले सहमति दिनासाथ पूर्वाधार तयार गर्दै नयाँ भन्सार नाका सञ्चालनमा आउनेछन् ।