किरण आचार्य
मंगलबार, माघ ८, २०७५
6450

गाईभैंसीको दूधको उत्पादन लागत बढी हुँदा एकातिर उत्पादित मूल्य बढी हुने र उपभोक्ताले पनि महँगोमा खरिद गर्नुपर्ने समस्या छ । यस्तो समस्या समाधान गर्न विकसित मुलुकमा गाईको पेटमा प्वाल पार्ने प्रविधिको सफल प्रयोग भइसकेकाले नेपालमा पनि त्यसको प्रयोग गर्ने तयारी भइरहेको छ ।
उत्पादन लागत बढी हुनुमा बजारबाट किन्नुपर्ने दानामा आधारित पशुपालन गरिनु, घाँसमा आधारित पशुपालन कम हुनु र कम दूध दिने गाईको संख्या अधिक हुनुलाई मुख्य समस्याका रूपमा औंल्याइदै आइएको छ । यी समस्यामध्ये गाईको पेटमा प्वाल पारेर गाईको पोषणको अवस्थाबारे अनुसन्धान गरी गाईलाई सन्तुलित आहारको व्यवस्थापन गर्ने प्रविधि अ‍ेमेरिका, युरोप, चीनलगायतका विकसित मुलुकमा बढी प्रचलनमा पाइएको छ । यस विषयमा नेपालका कृषि वैज्ञानिकहरूले पनि विकसित मुलुकमा थप अनुसन्धान गरेका छन् ।

अमेरिकास्थित दाना उत्पादन कम्पनी ब्राउट फिडका पशु पोषणविज्ञ डा. किशोरकुमार गौतमले पशुको शारिरीक अवस्थाअनुसार सन्तुलित आहार आवश्यक रहेको बताउँछन् । “वैज्ञानिक दृष्टिकोणले दुधालु गाइको शरीरको भारअनुसार खानपानको आवश्यकता हुने र सोहीअनुसार उसको जीवन निर्वाह, विकास र उसले दिने उत्पादन प्रभावित हुने गर्छ,” उनी भन्छन्, “उत्पादन लागत कम गर्न र उत्पादन वृद्धि गर्न समेत विभिन्न उपायमध्ये पशुको पेटमा प्वाल बनाएर उसको पाचन प्रणाली अध्ययन गर्ने विधि पनि प्रमुख हो ।” गाईको पाचन प्रणाली अध्ययन गरी उसले २४ घण्न्टामा खाने दानामा प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन खनिज र भिटामिनलगायतको आवश्यकता र आपूर्तिको अवस्थाबारे जानकारी लिइ सोही अनुसारको व्यवस्थापन गर्ने यो विधि अमेरिकामा सफल अभ्यास भइरहेको उनले बताए ।
पशु सेवा विभागका महानिर्देशक बिमल कुमार निर्मल नेपालमा यस्तो प्रविधि नभित्रिएको तर उत्पादन लागत घटाउन नश्ल सुधार र घाँसमा आधातिर गाईपालन प्रवद्र्धन गर्न फोरेज मिसन कार्यक्रमहरू सञ्चालनमा रहेको बताउँछन् । “गाईको पेटमा प्वाल पारेर गाइले खाएको खानेकुराको पोषण पत्ता लगाउने कुरा अुनसन्धानसँग सम्बन्धित विषय हो,” उनले भने, “गाईको पाचन प्रक्रिया बुझेर जति आवश्यक छ त्यति खुवाउन मिल्ने भएकाले लागत कटौती गर्न यो प्रविधि उपयोगी हुन्छ, नेपालमा यसको प्रयोग गरिएको पाइएको छैन ।” उनले दाना उद्योगहरूमा यस्तो खालको व्यवस्था गर्दा उपयोगी हुने सुझाउँछन् ।
पाचन प्रणालीका आधारमा घाँस वा दानाको मात्र मिलएर दिनका लागि पेटमा प्वाल पार्ने प्रविधि उपयोगी हुने डा. गौतमको अध्ययनबाट थप पुष्टि गरेको बताए । “यससम्बन्धी विभिन्न अध्ययनहरू भइ नै रहेका छन्, खासगरी ठूला फार्महरू वा दाना उद्योगहरूमा यस्तो प्रविधि उपयोगी हुने मेरो अध्ययनको निष्कर्ष छ ।” पाचन प्रणाली मापन गर्न गाईको पेटमा मा अप्रेसन गरेर प्वाल पारी ढक्कन समेत बनाइन्छ । यस्तो ढक्कन खोलेर पेटभित्र २, ४, ६, ८, १४, १६, १८, २४, ४८, ७२ र २१० घण्टामा सानो पोका दाना, घाँस राखेर ढक्कन लगाउने र घाँस सो खाने पदार्थ निकालेर अनुसन्धान गरी गाईको पाचन प्रणालीको वास्तविक अवस्था पत्ता लगाउन सकिन्छ । विकसित मुलुकमा बढी दूध दिने गाईहरूको संख्या बढी हुँदा यस्तो प्रविधि सफल भइरहेको सन्दर्भमा नेपालमा यस्ता प्रविधिसँगै बढी दूध दिने गाईको संख्या बढाउनु पर्ने र ठूला व्यावसायिक फार्महरू विकास हुनुपर्ने तथा दाना उद्योगहरूले पनि आधुनिक प्रविधि अवनाएर अनुसन्धानको आधारमा दाना तथा घाँसहरूको उत्पादन गर्नुपर्ने गौतमको सुझाव छ ।
विश्वमा दैनिक १ सय लिटर दूध दिने गाईका प्रजातिको विस्तार भइरहँदा नेपालमा भने दैनिक आधि लिटर देखि २ लिटरसम्म दूध दिने गाईको संख्या अधिक रहेको पाइएको छ । कुल गाईमध्ये १२ लाख गोरु रहेको र १६ प्रतिशत गाईले मात्र दूध दिने गरको पाइन्छ । दूध दिनेमध्ये पनि आधा लिटरदेखि २ लिटरसम्म दूध दिने गाईको संख्या अधिक रहेको पाइन्छ । दूध नै नदिने गाई, बाच्छाबाच्छी वा गोरु र दूध दिने गाई गोरु सबैलाई एउटै खुराक दिने प्रचलन छ । पछिल्ला वर्षहरूका आधुनिक गाईफार्महरू पनि खुलिरहेको तथा गाईको दाना उद्योगहरूसमेत फस्टाइरहँदा उत्पादन लागत कम गर्ने उपायहरूमा सरकारले ध्यान दिनुपर्नेमा विज्ञहरू सुझाउछन् ।