कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
240

नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम, घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रसहित केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्न सरकारलाई सुझाव दिएको छ । महासंघले आफूहरूका सुझाव समेटेर मात्र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको हो ।
महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवासम्बन्धी (शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्था, ई–कमर्स, कार्गो) व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्न सुझाव दिएको छ ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवलाई भेटी उक्त सुझाव दिएको हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ अहिले संसद्मा विचाराधीन छ ।
प्रतिनिधिमण्डलले उल्लेखित क्षेत्रमा अर्बौंको स्वदेशी लगानी भएकाले विदेशी लगानी आवश्यकता नरहेको जानकारी गराएको छ । स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्व पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायी सक्षम र विशेष शीप पनि भएकाले महासंघले पेश गरेका सुझावलाई नयाँ ऐनमा समावेश गर्न महासंघको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएको हो ।