कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
344

लघु घरेलु तथा साना उद्योग र कृषि क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न नहुने पक्षमा सांसद र उद्योग व्यवसायी एकमत देखिएका छन् ।
सरकारले आगामी चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलन अगाडी पारीत गर्ने तयारी गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सांसद र उद्योग व्यवसायी एकमत देखिएको हुन् । प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा उद्योग व्यवसायीहरुले लघु घरेलु तथा साना उद्योग र कृषि क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न नहुने बताएका छन् । सरकारले प्रस्ताव गरेको उक्त विधेयकमा कुखुरा पालन बाहेक अन्य मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरु, ई–कमर्श, कार्गो जस्तो व्यवसायमा पनि विदेशीले लगानी गर्न पाउने उल्लेख छ । उद्योग व्यवसायीहरुले कृषि क्षेत्र र साना उद्योगमा पनि विदेशीलाई लगानी गर्न दिए स्वदेशी उत्पादनमा रास आउन सक्ने भन्दै विधेयक परिर्माजन गर्न सुझाव दिएका छन् ।

यसअघिको बैठमा सांसदहरुले पनि लघु घरेलु तथा साना उद्योग र कृषि क्षेत्रमा विदेशी लगानी खुल्ला गर्न नहुने बताएका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले अन्य कृषि तथा घरेलु उद्योगमा विदेशीलाई लगानी गर्न रोक लगाए पनि दुग्ध प्रशोधन उद्योगमा भने रोक्न नहुने बताए । उनले दुग्ध उद्योगमा विदेशी लगानी ल्याउदा किसानलाई नै फाईदा हुने पनि बताए ।
छलफलमा सहभागीहरुले सरकारले प्रस्ताव गरेको एकल विन्दु केन्द्रको भने स्वागत गरेका छन् । उनीहरुले विदेशी लगानीमा सञ्चालन हुने उद्योगलाई दिइने छुट सुविधा, सहुलियत र आवश्यक परामर्शका लागि एउटै विन्दुबाट सेवा दिनु राम्रो कुरा भए पनि कार्यन्वयनमा भने ध्यान दिनुपर्ने बताए ।