कारोबार संवाददाता
सोमवार, बैशाख २, २०७६
394

नेपालगन्ज-बाँके र बर्दियामा नयाँ जातको बढी उत्पादन दिने पोषणयुक्त गहुँको बीउबाट खेती गरिएपछि यस वर्ष विगतको तुलनामा तेब्बर उत्पादन हुने भएको छ । पुरानो रैथाने गहुँको ठाउँमा नयाँ जातको पोषणयुक्त गहुँको बीउ प्रयोग गरिएपछि यस वर्ष गहुँको खेती सोचेभन्दा राम्रो देखिएकाले उत्पादनमा धेरै वृद्धि हुने किसानहरूको भनाइ छ ।
बाँके डुडुवा–२ का किसान ओमप्रकाश विश्वकर्माले परम्परागत बीउ प्रयोग गरेर खेती गर्दा छरेको बीउसमेत उत्पादन नहुने ठाउँमा परीक्षणका लागि गरिएको बोरलक १०० जातको गहुँको उत्पादन सोचेको भन्दा अत्यन्तै बढी भएको बताए ।

“अहिले ४ कट्ठामा बोरलक १०० जातको गहु खेती गरेको छु । बाली पाक्ने बेला हुँदैछ थोरैमा पनि १० क्विन्टल गहुँ उत्पादन हुने आँकलन गरेको छु,” उनले भने, “पहिला यो खेतमा गाउँघरमा पाईने रैथाने बीउ छर्दा ३ क्विन्टल पनि उत्पादन मुस्किलले हुन्थ्यो जसले मेहनत, मल, बीउ र सिँचाईको खर्च पनि उठ्दैनथ्यो ।”
यस्तै बाँके डुडुवा–२ का अर्का किसान राजेन्द्र बर्माले परम्परागत जातको गहुँ खेती गर्दै आएका बाँके र बर्दियाका किसानले लगानी समेत उठाउन धौ–धौ भएका बेला नयाँ जातका गहुँको बीउ प्रयोग गरिएपछि उत्पादन बढी हुनुका साथै पोषिलो आइरन र जिंकसमेत पाईने गहुँ उत्पादन भएको बताए । उनले अहिले खेतबाली हेर्दा विगतभन्दा तेब्बर गहुँ उत्पादन हुने निश्चित देखिएको जनाए ।
यस्तै बर्दिया बढैयाताल–२ का किसान भुवन रिजालले करिव सवा २ विगाहमा रैथाने गहुँको खेती गर्दै आएकोमा मल, बीउ, सिँचाइ र जोताईको मूल्य नै उठाउन कठिन हुने गरेकोमा नयाँ जातको बीउ प्रयोग गरेपछि अहिले भने अवस्था बदलिएको बताएका छन् । “नयाँ जातको गहुँको बीउबाट खेती अहिले अवस्था निकै परिवर्तन भएको छ, गहुँ खेती हेरेर उत्साह बढेको छ । यस पटक सोचेको भन्दा धेरै बढी उत्पादन भएको छ,” उनले भने ।
सिफारिस गरिएका नयाँ जातका गहुँको बिउबाट प्रतिहेक्टर कम्तिमा ५ मेट्रिकटनदेखि बढीमा ८ मेट्रिकटनसम्म उत्पादन हुने गरेको गहुँ खेतीविज्ञ मदनराज भट्टले बताए ।
कृषिमा परम्परावादी शैलीले खेती गर्दा उत्पादन पनि अत्यन्तै थोरै हुने र किसान पनि सन्तुष्ट नहुने भएका कारण नयाँ प्रविधि र पोषणयुक्त जातको गहुँको विउ खेतीको लागि तयार गरिएको उनले जनाए ।
उनले परम्परागत खेती हुँदै आएका गहुँका जातको सट्टा एचडि, एनएल १३२७, जिंकोल, माईल, विएल ४६९९, विएल ४३३५, विएल ४३४१ र बोरलक १०० लगायतको ८ जातका गहुँका बीउको नमुना परीक्षणका लागि बाँके र बर्दियाका विभिन्न ठाउँमा गरी २६ स्थानमा बीउ उत्पादन खेती गरिएको जानकारी दिए । उनले यी सबै बीउ खेती गरिएका जातमा रोग अवरोधक (ब्लास्ट रोग) प्रतिरोधक भएको बताए ।
यसैबीच बाँके र बर्दियामा परीक्षणको लागि गरिएको पोषणयुक्त जिंक र आइरन तत्व समावेश भएका विभिन्न जातका गहुँको बीउ खेतीको स्थानीय जनप्रतिनिधि, कृषि ज्ञानकेन्द्र, गहुँबाली विज्ञ, बीउ उत्पादन कम्पनीका व्यवस्थापक र अगुवा कृषकलगायतले स्थलगत अध्ययन अवलोकन गरेका छन् ।