सामुदायिक होमस्टेलाई २ करोड ५० लाख अनुदान
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५
232

समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम) सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले २ करोड ५० लाख रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय अनुदान पाएको छ । दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी–बुकिङ डटकमले बुकिङ बुस्टर कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध गराएको हो ।
विश्व समुदायमा दिगो पर्यटन विकास र विस्तारमा कार्यरत स्टार्ट–अप कम्पनीमध्ये उत्कृष्ट १० को सूचीमा राख्दै नेपाललाई (युरो २२५,०००) राशिको अनुदान प्रदान गरेको सञ्जालका संस्थापक शिवप्रसाद ढकालले जानकारी दिए । समुदायमा आधारित दिगो पर्यटन विकासमा योगदान गरेबापत यस क्षेत्रमा नेपालले पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय अनुदान पाएको हो ।
यही जेठ १ देखि १७ गते अर्थात् (मे १५ देखि ३१, २०१८) सम्म नेदरल्याण्डको एम्स्ट्र्डममा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट सञ्जालका संस्थापक ढकालले सहभागिता जनाएका थिए । कार्यक्रममा बुकिङ डटकमले गन्तव्यहरूमा अधिक पर्यटकीय चाप न्यूनीकरण गर्न तथा वातावरणीय एवं सामाजिक पक्षलाई सकारात्मक प्रभाव पर्ने गरी स्थानीय समुदायको स्तरोन्नति र समृद्धिका लागि क्रियाशील रहेका विश्वसमुदायबाट आमन्त्रित १० कम्पनीलाई करिब २० लाख युरोबराबरको राशि अनुदान उपलब्ध गराएको थियो ।
ढकालले होमस्टेको क्षेत्रमा नेपालले ठूलो उपलब्धि हासिल गरेको र सो रकममार्फत प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइने बताए । व्यवसाय प्रवद्र्धनार्थ वेबसाइट बनाई समुदायलाई सहभागिता गराएर स्थानीय जीविकोपार्जनमा टेवा पुग्ने गरी कार्यक्रम अघि बढाइने उनको भनाइ छ ।
पर्यटन व्यवसायी ढकालका अनुसार काभ्रेपलाञ्चोकको पनौतीमा ‘पनौती कम्युनिटी होमस्टे’ एकजना पथप्रदर्शकको घरबाट शुरु गरिएको थियो । अहिले २२ वटा घरमा होमस्टे पुगिसकेको छ भने १३ वटा सामुदायिक होमस्टेलाई एकै थलोमा ल्याएर सशक्तीकरण तथा प्रवद्र्धनको काम गरिएको छ ।
बुकिङ डटकम विश्वको तेस्रो ठूलो अनलाइन बजार क्षेत्र हो । पहिलो अमेजन डटकम र दोस्रोमा अलिबाबा डटकम पर्छन् । नेपालमा रहेका सामुदायिक होमस्टेको सञ्जालका रूपमा रहेको संस्थाले विश्वका पर्यटकलाई नेपाली समुदायको संस्कृति, रहनसहन, वेशभूषा, खानपिनलगायत विविध स्थानीय पक्षको वास्तविक अनुभव प्रदान गर्ने सेवा उपलब्ध गराउँदै आएको छ । स्थानीयवासीलाई पर्यटन सेवामा आबद्ध गराई लाभान्वित गराउनुका साथै विभिन्न १३ वटा समुदायमा महिला सशक्तीकरणमा समेत सहयोग पु¥याइरहेको संस्थाले जनाएको छ ।
विश्वव्यापी बृहत् ई–कमर्स कम्पनी–बुकिङ डटकमद्वारा सञ्चालित ‘द बुकिङ बुस्टर’ तीन हप्ते क्षमता अभिवृद्धि र सदस्यता अभिमुखीकरण तथा सशक्तीकरण कार्यक्रम हो । यसले विश्वभरिबाट चयन भएका प्रत्येक कम्पनीलाई युरो ५०,००० राशिबराबरको अनुदान प्राप्त गर्ने अवसर प्रदान गर्छ ।
नेपालबाट प्रथमपटक चयन भएको कम्युनिटी होमस्टेले युरो २२५,००० धनराशि प्राप्त गर्नुका साथै बुकिङ डटकमका विविध रणनीतिक विशेषज्ञबाट एक वर्षको अवधिभर निरन्तर सल्लाह–सुझाव तथा आवश्यक तालिम प्राप्त गर्ने अवसर प्राप्त गरेको छ । साथै, बुकिङ डटकमले भविष्यमा संस्थाको विकासका लागि सम्भावित नविनतम अभ्यास तथा प्रयोगका लागिसमेत सहयोग र सहकार्य प्रदान गर्ने भएको छ ।
यस अतिरिक्त ‘एमाजोन वेब सर्भिसेस’ ले कम्युनिटी होमस्टेको अभ्यास एवं सेवालाई प्रवद्र्धन गर्न क्रेडिट, ट्रेनिङ एन्ड सपोर्टजस्ता एमाजोन अनलाइन सेवा तथा स्रोत उपलब्ध गराउने भएको छ ।
सानो लगानीमा आफ्नै घरमा पाहुनालाई स्थानीय परिकारको साथ सत्कार गर्ने नेपाली प्रचलन अर्थात् होमस्टेले अन्तर्राष्ट्रिय पर्यटकको मन जित्न थालेको छ । फरक स्वाद तथा उत्कृष्ट सेवा सुविधाको खोजीमा पर्यटकलाई नेपालका मौलिक होमस्टेले सुविधा दिने गरेका छन् । होमस्टेमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्दो छ ।
आर्थिक सर्वेक्षण २०७४-७५ अनुसार चालू आवको आठ महिनासम्ममा नेपालमा २५१ सामुदायिक होमस्टे सञ्चालनमा छन् । आव २०७३-७४ सम्म तारास्तरको होटल संख्या १२५ पुगेको छ भने चालू आवको प्रथम आठ महिनामा पर्यटकस्तरीय होटल ९७७ पुगेको छ । सन् २०१७ मा करिब १० लाखको हाराहारीमा बाह्य पर्यटक नेपाल आएका थिए ।
सिवी अधिकारी-रासस