कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५
554

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने जानकारी दिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग मंगलबारको भेटमा अर्थमन्त्री डा. खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभिन्न सरकारी निकायबाट भुक्तानी हुनुपर्ने झन्डै ४२ अर्बभन्दा बढी रकम प्राप्त नहुँदा देशभरका व्यवसायी ठूलो मारमा परेको जानकारी गराएको थियो ।
प्रतिनिधिमण्डलले हेभी इक्युप्मेन्टमा लाग्ने कर मिनाहा गरिदिनसमेत आग्रह गरेको छ । त्यस विषयमा अर्थमन्त्री खतिवडाले सकारात्मक जवाफ दिएका छन् । यसबाहेक प्रतिनिधिमण्डलले निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव, व्यवसायी मैत्री ऐन कानुनको आवश्कयता, निर्माण कार्यमा सरकारी निकायबीचको समन्वय अभावलगायतका विषयमा समेत अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो ।
यसैबीच महासंघले हालै जारी गरिएको सही कारोबारसहित विवरण बुझाई तिनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरको बक्यौता देखाउने निर्माण व्यवसायीलाई ब्याज हर्जाना छुट गरिने सूचनाप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । सो सूचनाले इमान्दार व्यवसायीलाई मर्का पर्ने र विवरण नबुझाउने तथा बक्यौता नदेखाउने प्रवृत्ति बढ्न गई राजश्वको लक्ष्य प्राप्तिमा असर पर्न जाने महासंघको भनाइ छ । महासंघले सबै व्यवसायीले तिर्नु तथा बुझाउनुपर्ने सबै मूल्य अभिवृद्धि कर तथा आयकर २०७५ पुस मसान्तसम्म बुझाउने समय प्रदान गर्न आग्रह गरेको छ ।