लक्ष्मी सापकोटा
बुधवार, जेठ ३०, २०७५
1096

नेपालले कुल वस्तु निर्यातबाट प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढी रकम बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । पछिल्लो १० महिनामा ६६ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
१० महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको २३ लाख २ सय ९ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये इन्धन पहिलो नम्बरमा गर्छ । स्वदेशमा उत्पादन नहुने इन्धन आयातबापत मे महिनासम्म मुलुकबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बाहिरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएपछि आयात दरसमेत बढ्दै गएको हो । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले बढी मूल्यको इन्धन आयात भएको हो । निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा इन्धनको खपत दिनप्रतिदिन बढ्दै गएकाले पनि इन्धन आयातदर बढ्दै गएको उनको भनाइ छ । ११ महिनामा सबैभन्दा धेरै डिजेल १३ लाख ५५ हजार ४ सय ८४ किलोलिटर आयात भएको छ । सो अवधिमा ४ लाख २३ हजार ९ सय २४ किलोलिटर पेट्रोल आयात भएको निगमको तथ्यांक छ । १ लाख ७६ हजार ३ सय ६० किलोलिटर हवाई इन्धन र १९ हजार ९६ किलोलिटर मटीतेल भित्रिएको छ ।
यस्तै, ३ लाख २५ हजार ३ सय ७५ टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । नेपालमा सतप्रतिशत इन्धन आयात भारतबाटै हुने गर्छ । बढ्दो सवारीसाधनको प्रयोगले गर्दा पनि बजारमा दिनप्रतिदिन इन्धनको खपत बढ्दै गएको छ । विकास निर्माणको कामसमेत तीब्र गतिमा अगाडि बढिरहेकाले पनि इन्धन खपत बढ्दै गएको निगमको भनाइ छ ।
निगमका अनुसार जुलाई महिनामा १ लाख ९६ हजार ३ सय ५४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै अगस्त महिनामा १ लाख ५९ हजार ६ सय ७७ किलोलिटर, सेप्टेम्बरमा १ लाख ६८ हजार, अक्टोबरमा १ लाख ९३ हजार ७ सय ८९ किलोलिटर इन्धन आयात भएको छ । नोभेम्बरमा इन्धनको आयात बढेर २ लाख ३८ हजार ५ सय ६९, डिसेम्बरमा २ लाख २७ हजार ५ सय २ किलोलिटर इन्धन आयात भएको छ । यस्तै, जनवरीमा २ लाख ४२ हजार २ सय ४, फेब्रुअरीमा २ लाख २३ हजार ३ सय ३४ किलोलिटर इन्धन आयात भएको छ । यस्तै मार्चमा २ लाख ४३ हजार ८ सय ८१ र अप्रिलमा २ लाख ४२ हजार ५ सय १७ किलोलिटर इन्धन आयात भएको निगमको तथ्यांक छ । मे महिनामा २ लाख ६५ हजार २ सय ३० किलोलिटर इन्धन आयात भएको छ ।
लोडसेडिङ घटे पनि प्रत्येक महिनामा इन्धनको आयातदर बढ्दै गएको छ । निगमका अनुसार हाल मासिक सरदर ८० हजारदेखि १ लाख किलोलिटरभन्दा बढी डिजेल माग रहेको छ । यस्तै, पेट्रोल मासिक २५ हजारदेखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर र ग्यास २५ देखि ३० हजार टन माग रहेको छ ।

महिना    इन्धन आयात(किलोलिटरमा)
जुलाई  १९६३५४
अगस्त  १५९६७७
सेप्टेम्बर  १६८०७८
अक्टोबर  १९३७८९
नोभेम्बर  २३८५६९
डिसेम्बर २२७५०२
जनवरी  २४२२०४
फेबु्रअरी  २२३३३४
मार्च  २४३८८१
अप्रिल  २४२५१७
मे  २६५,२३०
स्रोत : नेपाल आयल निगम