लक्ष्मी सापकोटा
बुधवार, असार २०, २०७५
408

नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यास बिक्री गर्दा प्रतिसिलिन्डर २ सय ३३ रुपैयाँ घाटा हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय ग्यासको मूल्य लगातार बढ्दै गएपछि निगमलाई सबैभन्दा धेरै घाटा ग्यासमा भएको हो । ग्यासको मूल्य बढेर आए पनि निगमले उपभोक्तालाई असर पर्ने भन्दै मूल्य समायोजन गरेको छैन । जसका कारणले पनि ग्यासमा घाटा बढ्दै गएको हो ।
“ग्यासमा मूल्य बढाउँदा सर्वसाधारणलाई समेत प्रत्यक्ष असर पर्ने हुँदा मूल्य बढाएका छैनौं,” निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, “हवाई इन्धन र पेट्रोलको नाफाले ग्यासमा भएको घाटा समायोजन गरेका छौं ।” प्रतिसिलिन्डर २ सय ३३ रुपैयाँ घाटा भएकाले निगमलाई मासिक ग्यासमा मात्र २८ करोड ४१ लाख रुपैयाँ घाटा रहेको उनको भनाइ छ । ग्यासमा घाटा भए पनि पेट्रोल र हवाई इन्धनमा नाफा भएकाले निगमलाई अहिले १५ दिनमा ३ करोड ६२ लाख रुपैयाँ मात्र घाटा देखिएको हो । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढ्दै गएकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको हो ।

अहिले ग्यास उद्योगीले बजारमा आवश्यकताअनुसार ग्यास ल्याइरहेका छन् । अघिल्लो महिना ३८ हजार मेट्रिक टन ग्यासको आयात भएको छ । बजारमा ग्यासको खपत बढ्दै गएकाले पनि आयात दर बढ्दै गएको हो ।
वार्षिक रुपमा ग्यासको खपत १५ प्रतिशतले बढ्दै गएको निगमको भनाई छ । पछिल्लो १० महिनामा ३ लाख २० हजार ३ सय ७४ मेट्रिक टन ग्यास आयात भएको छ । निगमलाई ग्यास र डिजेलमा घाटा भए पनि पेट्रोल, मट्टितेल र हवाई इन्धनमा नाफा छ ।
इण्डियन आयल कर्पोरेसन (आईओसी)ले जुलाईमा पठाएको नयाँ मूल्यअनुसार खासै घटबढ नभएको जनाउँदै निगमले मूल्य यथावत् राखेको छ । यो महिना ग्यासमा प्रतिसिलिण्डर ९५ रुपैयाँ घाटा बढेर आएको निगमले जनाएको छ । ग्यासमा घाटा चुलिँदै गए पनि मूल्यवृद्धि गर्दा उपभोक्तालाई असर पर्ने हुँदा निगमले लामो समयदेखि मूल्यवृद्धि गरेको छैन ।
निगमलाई पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७६ पैसा नाफा छ भने डिजेलमा प्रतिलिटर ६७ पैसा घाटा छ । एलपी ग्यासमा खरिद लागत प्रतिसिलिण्डर भन्डै ९५ रुपैयाँ बढेर आएकाले प्रतिसिलिण्डर २३३ रुपैयाँ ९० पैसा घाटा रहेको निगमको भनाइ छ । नेपालका ५५ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्ने गर्छन् ।
ग्यासको खपतदर बढ्दै गएसँगै सोही अनुपातमा आयात दर पनि उच्च हुँदै गएको तथ्यांकले देखाएको छ । सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि दाउरा गुइँठाको अभावले गर्दा ग्यासको खपत दर बर्सेनि बढ्दै गएको हो ।
नेपाल आयल निगमका एलपीजी विभागका निर्देशक दीपक बरालले बर्सेनि ग्यासको खपत १५ प्रतिशतका दरले बढ्दै गएको बताए । बढ्दो सहरीकरणले दाउरा गुइँठाको अभाव हुँदै गर्दा पनि ग्यासको खपत दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । ग्यास दाउराभन्दा सस्तो भएकाले पनि सर्वसाधारण आकर्षित भएको उनी बताउँछन् । बजारमा दाउरा महँगो हुँदै गएको र ग्यास प्रयोगले धुवाँधुलाको समस्या पनि नहुने हुँदा यसतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएको उनको भनाइ छ । ग्यासका लागि मात्र बर्सेनि ३० देखि ४० अर्ब रुपैयाँ बाहिर जाने गरेको तथ्यांकले देखाएको छ ।