सोलुखुम्बुको पूर्वाधार विकासमा २४ करोड विनियोजन
कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५
304

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत कार्यक्रम, सडक र सिँचाइमा खर्च गर्ने गरी उक्त रकम विनियोजन गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा सोलुखुम्बुका लागि २४ करोड ५० हजार रूपैयाँ विनियोजन गरेको छ । सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत कार्यक्रम, सडक र सिँचाइमा खर्च गर्ने गरी उक्त रकम विनियोजन गरेको हो ।
प्रदेश सरकारले सोलुखुम्बुमा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय भवन निर्माण गर्न ५० लाख विनियोजन गरेको छ भने हरेक स्थानीय तहलाई ५ वटाका दरले जनता आवास कार्यक्रमअन्तरगत भवन निर्माण गर्न ८० लाख रूपैयाँ विनियोजन गरेको छ । त्यस्तै, माप्य दूधकोशी गाउँपालिका–२ मा सामुदायीक भवन निर्माण गर्न २० लाख, नेचासल्यानमा बहुउद्देश्यीय सामुदायीक भवन निर्माण गर्न २० लाख, सोलुदूधकुुण्ड नगरपालिका–५ मा मदन भण्डारी फाउन्डेसनको तला थप गर्न १० लाख, नेचासल्यानको खहरे खोला पहिरो नियन्त्रण, सोताङको चेभुदु पहिरो नियन्त्रण, छेस्कामको ताबु पहिरो नियन्त्रण, पाडेवारी पाहुरे खोला पहिरो नियन्त्रण नेचासल्यान, सोताङको माझखर्क पहिरो, महाकुलुङको शाब्दि पहिरो नियन्त्रणका लागि ५/५ लाख रूपैयाँ विनियोजन गरिएको छ । यसैगरी, स्थानीय तहको पहिरो नियन्त्रणका लागि भन्दै एकमुष्ट १० लाख रूपैयाँ छुट्याइएको छ ।
प्रदेश सरकारले सिखुखोलाकलेबारी बाहुण्डी वासिमकुलो भिमेस्थान खन्ड पहिरो रोकथाम, मन्दिरसहित र थुलुङ दुधकोशी गाउँपालिकामा पर्ने सिमपहिरो रोकथामका लागि ५/५ लाख, काँगेलको खोनपानी विस्तार र सुधारका लागि एक करोड, लिखुपिके गाउँपालिकाको चौलाखर्क खानेपानीको आयोजना निर्माणका लागि एक करोड, ढल खानेपानी र गुणस्तर सुधारका लागि एकमुष्ट १० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै, सोलुखुम्बुको भकान्जे खानेपानी आयोजनाका लागि ७० लाख, वातावरण सरसफाई आयोजनामा ३ लाख, खानेपानी मर्मतमा १० लाख, सोताङको केलचक खानेपानी र बखपलम खानेपानीका लागि ६० लाख र ३५ लाख रकम विनियोजन गरिएको छ । माप्यदूधकोशी–४ मा भूमेस्थान मर्मत गर्न १५ लाख, एकीकृत वस्ति विकासका लागि २५ लाख विनियोजन गरिएको छ भने सोलुदूधकुण्ड नगरपालिका–६ मा शीर्षक प्रष्ट उल्लेख गरिएको छैन् । जहाँ सुधार र विस्तारका नाममा १५ लाख विनियोजन गरिएको छ ।
त्यस्तै, प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि काँगेल विमानस्थल व्यवस्थापन, नेले, नेचा, बुङ, बाहुन्डी, जुबुको सुकेपोखरी, सल्यानको बिहीबारे र सोताङको शिवटार बजारको शहरीकरण व्यवस्थापनका लागि १५/१५ लाख, महाकुलुङ क्षेत्रमा रहेका तालको पर्यटकीय पूर्वाधार निर्माण, काँगेल खेल मैदान निर्माण तथा कम्पाउण्डका लागि पनि १५/१५ लाख रकम विनियोजन गरिएको छ ।
नेचासल्यान गाउँपालिका ५ मा खेल मैदाननिर्माणका दुई शीर्षकमा बजेट विनियोजन गरिएको छ । एउटा शीर्षकमा १५ लाख र अर्को शीर्षकमा ५ लाख देखिएको छ । महाकुलुङ क्षेत्रको तालमा पूर्वाधार निर्माण शीर्षकमा पनि कमजोरी देखिएको छ । सो शीर्षकमा पनि १५ लाख र ५ लाख एउटै शीर्षकमा विनियोजन गरिएको छ ।
योङ स्टार क्लबको खेलमैदान निर्माण गर्न २० लाख छुट्याइएको छ भने सोलुखुम्बु मात्र शीर्षक राखेर १० लाख विनियोजन गरिएको छ । वातिमजुबुवादे जोड्ने मोटरेबल पुलनिर्माणका लागि १ करोड ५० लाख रकम विनियोजन गरिएको छ भने क्रमागत शीर्षक मात्र भनेर १ करोड ५० लाख छुट्याइएको छ । तामाखानी, जस्माने भन्ज्याङ, गोली गुम्बा, काफ्ले चौर हुँदै भण्डारीसम्मको सडकका लागि १५ लाख, तिङला, नेचासल्यान हुँदै तुईनटार सडकका लागि १ करोड २५ लाख, माप्यदूधकोशी १ र २ जोड्ने गरी दूधकोशी नदीमा पुलनिर्माणका लागि १५ लाख, दूधकोशी नदी दिप्लीघाटमा बेलिव्रिज राख्न ४६ लाख, नेले तुम्से काँगेलटार, खनियाटार हुँदै खोटाङको ऐसेलुखर्क जोड्ने सडकका लागि १ करोड ७५ लाख, स्थानविनाको झोलुङगे पुलको सम्भाव्यताका लागि फरक ३ शीर्षकमा ५ लाख, १० लाख र १५ लाख विनियोजन गरिएको छ । त्यस्तै, झोलुङ्गे पुल संरक्षण तथा मर्मत २ वटा शीर्षकमा १४ लाख र १० लाख रकम छुट्याइएको छ ।