कारोबार संवाददाता
आइतवार, असार २४, २०७५
546

दुर्गम तथा पहाडी जिल्लामा थप खाद्यान्न ढुवानी गर्न अर्थ मन्त्रालयले ७ करोड रुपैयाँ स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले १३ हजार पाँच क्विन्टल थप चामल ढुवानीका लागि ७ करोड २७ लाख रुपैयाँ स्वीकृत गरेको हो । खाद्यान्न अपुग भएका जिल्लाबाट माग आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप कोटाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो । सोहीअनुसार अर्थले रकम निकासाको स्वीकृति दिएको हो । मुगु, कालीकोट, रुकुम (पश्चिम) हुम्ला र डोल्पामा थप खाद्यान्न ढुवानी गर्न सो रकम स्वीकृत भएको मन्त्रालयले जानकारी दिएको छ ।
खाद्यान्न अभाव हुने ती जिल्लाले तोकिएको कोटाले अपुग भएपछि थप खाद्यान्न माग गरेका थिए । थप माग भएका जिल्लामा खाद्यान्न ढुवानी काम भइरहेको नेपाल खाद्य संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । दुर्गम तथा पहाडि जिल्लाका जनतालाई सहुलियत दरमा खाद्यान्न वितरण गर्न सडक र हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्ने काम भइरहेको उनले जानकारी दिए ।

सरकारले बजेटमार्फत आउँदो वर्षका लागि खाद्यान्न ढुवानी गर्न ४४ करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा १ लाख ४० हजार क्विन्टल चामल ढुवानीका लागि ४२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
दुर्गम जिल्लामा बिक्री मूल्य भने चामलको गुणस्तरअनुसार ३२ देखि ६० रुपैयाँसम्म पर्ने गरेको छ । संस्थानका अनुसार चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म ७१ हजार ६ सय ६५ क्विन्टल चामल ढुवानी भइसकेको छ ।