कारोबार संवाददाता
सोमवार, असार २५, २०७५
330

कैलालीको धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष ०७५-७६ का लागि प्रस्तुत बजेट र नीति तथा कार्यक्रम पारित भएको छ । उपमहानगरपालिकाको असार १० गते बसेको तेस्रो नगरसभा बैठकमा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
धनगढी उपमहानगरपालिकाले पत्रकार सम्मेलन मार्फत आर्थिक वर्ष ०७५-७६ का लागि १ अर्ब ७९ करोड ३४ लाख बजेट विनियोजन गरेको जानकारी दिएको छ । नगर प्रमुख नृपबहादुर वडका अनुसार चालूतर्फ ८० करोड ४९ लाख र पूँजीगतखर्च ९८ करोड ८५ लाख रुपैयाँको बजेट छ । चालू खर्चमा समाजिक सुरक्षा कार्यक्रमको १६ करोडसमेत समावेश गरिएकाले खर्च बढी देखिन आएको नगरप्रमुख वडले बताए ।

बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार, सूचना प्रविधी तथा सञ्चार विकास, उद्यम र सहकारिताको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष जोड, सामुदायिक वनको संरक्षण तथा व्यवस्थापन र प्राकृतिक विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी भादागाउँ होमस्टेलाई थप प्रवद्र्धन गर्ने, थारु संग्रहालयलाई थप प्रवद्र्धन र निरन्तरता दिने, धनगढी विमानस्थलको आगमनस्थलमा स्वागत गेट निर्माण गर्ने, नयाँबसपार्क निर्माणका लागि सार्वजनिक निजी साझेदारी ऐनअनुसार सञ्चालन गर्ने नीतिसमेत उपमहानगरपालिकाले लिएको छ ।

मेयर किशोर बम पत्रकारिता पुरस्कार घोषणा
यसैबीच धनगढी उपमहानगरपालिकाले स्वर्गीय मेयर किशोर बमको स्मरणमा पत्रकारिता पुरस्कार घोषणा गरेको छ । धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५-७६ का लागि प्रस्तुत बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा मेयर किशोर बम विकास पत्रकारिता पुरस्कार घोषणा गरेको नगरप्रमुख नृपबहादुर वडले बताए । “पुरस्कारको राशी ५१ हजार रुपैयाँ मेयर बमको नाममा घोषणा गरेका छौं,” उनले भने । पत्रकारिता पुरस्कारका लागि उपमहानगरपालिकाले अक्षयकोष निर्माण गर्ने र यसलाई कार्यविधी बनाएर सञ्चालन गरिने उनले बताए ।
२०४९ सालमा धनगढी नगरपालिकामा निर्वाचित भएका मेयर बमको २०७१ सालमा हृदयघातका कारण निधन भएको थियो । नेपाली कांंग्रेसबाट निर्वाचित मेयर स्वर्गीय बम नगरवासीबीच लोकप्रिय थिए ।