फुङलिङको बजेट ५० करोड
कारोबार संवाददाता
सोमवार, असार २५, २०७५
313

ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि ४९ करोड ८६ लाख ८ हजारको बजेट पारित गरेको छ । संघवाट प्राप्त हुने ४६ करोड २४ लाख ९२ हजार ४ सय, प्रदेशबाट २ करोड १६ लाख १४ हजार र फुङलिङ नगरपालिकाबाट १ करोड ४५ लाखको बजेट तेस्रो नगरसभाले पारित गरेको हो । वजेट सर्वसम्मतले पारित भएको नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले बताए ।
नगरपालिकाले चालूतर्फ ३२ करोड ६७ लाख ४५ हजार ४ सय र विकास (पुँजीगत) तर्फ १७ करोड १८ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ । चालूतर्फ ६५.३५ प्रतिशत बजेट छुट्याउँदा विकासतर्फ भने ३४.४७ प्रतिशत मात्रै छुट्याइएको हो । सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदानको ठूलो रकम चालूतर्फ समावेश भएकाले बजेट बढ्न गएको नगरपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्तामा ३ करोड ६९ लाख ३८ हजार ४ सय रुपैयाँ राखिएको छ ।
नगरपालिकाले पदाधिकारीको सेवा सुविधामा १ करोड २ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ । कर्मचारीको पारिश्रमिकमा ३ करोड ६८ लाख ४८ हजार गरी पदाधिकारी र कर्मचारीको सुविधा तथा पारिश्रमिकमा ४ करोड ७१ लाख २४ हजार रुपैयाँ खर्च हुने भएको छ । कार्यालय सञ्चालन तथा व्यवस्थापनमा २ करोड ७० लाख ३२ हजार छुट्याइएको छ भने वडा कार्यालयको प्रशासनिक खर्च ३८ लाख ५० हजार रुपैयाँ छ । नगरपालिकामा ११ वटा वडा रहेका छन ।
कार्यालय व्यवस्थापनमा ९९ लाख रुपैयाँ छुट्याइएको छ । यो पुँजीगततर्फको ब्यवस्थापन खर्च रहेको उल्लेख छ । नगरस्तरिय योजनामा ४ करोड ५९ लाख ६१ हजार, लक्षित कार्यक्रममा १ करोड, विषयगत कार्यक्रममा १ करोड १९ लाख छ भने समपूरक कोषमा २ करोड रुपैयाँ छ ।
नगरस्तरीय पूँजीगत कार्यक्रममा १ करोड, सशर्त अनुदानमा २१ करोड १८ लाख, सामाजिक सुरक्षामा ३ करोड ६९ लाख ३८ हजार ४ सय र वडाको बजेट ६ करोड ४१ लाख रहेको छ । नगरपालिकाले स्रोत भने समानीकरण अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, आन्तरिक आयलाई लिएको छ । फुङलिङ नगरपालिकाले आन्तरिक आयबाट ८० लाख र अनुमानित अल्यामा ६५ लाख रुपैयाँ राखेको छ । राजश्व बाँडफाँडबाट ७ करोड ३४ लाख ७० हजार प्राप्त हुने अनुमान छ ।