चुरे क्षेत्र संरक्षणमा ९ करोड खर्चिइयो
केशव समर्पण
मंगलबार, असार २६, २०७५
313

चुरे क्षेत्र संरक्षणमा आधा दर्जन सरकारी कार्यालयले यस आर्थिक वर्षमा संयुक्तरूपमा उक्त रकम खर्चेका हुन् । जलउत्पन्न प्रकोप नियन्त्रण, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र जिल्ला वन कार्यालयले संयुक्तरूपमा उक्त रकम त्यस क्षेत्रमा खर्चेका हुन् । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले पहिरो रोकथाम तथा नियन्त्रण र चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माणमा तीन करोड ६० लाख रुपैयाँ, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यालयले एक करोड ८३ लाख रुपैयाँ, भू–संरक्षण कार्यालयले एक करोड ८३ लाख रुपैयाँ, जिल्ला वन कार्यालयले ७६ लाख ९१ हजार रुपैयाँ, पशु सेवा कार्यालयले ३३ लाख २३ हजार रुपैयाँ तथा कृषि विकास कार्यालयले ३६ लाख रुपैयाँ चालू आव ०७४÷७५ मा चुरे क्षेत्र संरक्षणका लागि खर्च गरेका हुन् ।
सबै कार्यालयले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रममार्फत् एकीकृत रूपमा योजनाबद्ध ढंगबाट उक्त बजेट खर्चिएको आइतबार बकैया गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख तथा यस कार्यक्रमका सदस्य सचिव प्रल्हाद धितालले जानकारी दिए । मकवानपुरमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण बकैया र शक्ति हिरामुनि नदी प्रणालीअन्तर्गत कामहरू भइरहेका छन् । यसवर्ष यस कार्यक्रमअन्तर्गत बकैया र शक्ति हिरामुनि नदी प्रणालीका लागि जिल्ला वनस्पति कार्यालयलाई बजेत प्राप्त नभएको उनले बताए । “यस वर्ष वनस्पति कार्यालयलाई बजेट प्राप्त नभएका कारण यस क्षेत्रमा उक्त कार्यालयमार्फत काम भएनन्,” उनले अघिल्लो वर्षमा उक्त कार्यालयले पनि चुरे संरक्षणका लागि काम गरेको जानकारी दिए ।
कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालयले वृक्षरोपण, बिरुवा उत्पादन र हटस्पट निर्माण, जिल्ला पशु सेवा कार्यालयले गोठ सुधार, बायो ग्यास र घाँस उत्पादनमा जोड दिएको देखिन्छ । जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले तटबन्धन तथा नदी नियन्त्रणतर्फ कार्य गरेको र भू–संरक्षण कार्यालयले गल्छी, पहिरो तथा खहरे रोकथामको क्षेत्रमा काम गरेको जिल्ला वन कार्यालय मकवानपुरका प्रवक्ता विशाल भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार कृषि विकास कार्यालयले साना सिँचाइ, मौरी विकास, तरकारी विकास तथा भिरालो जग्गामा खेती प्रविधिलगायत क्षेत्रमा काम गरेको छ ।
यसैबीच, आइतबार राष्ट्रपति चुरे, तराई, मधेस विकास समितिमार्फत सञ्चालित कार्यक्रमको जिल्ला वन क्षेत्र समन्वय समितिबाट संयुक्तरूपमा अनुगमन भएको छ । अनुगमन गर्दै ३ नम्बर प्रदेश सांसदद्वय प्रेमबहादुर पुलामी र मुनु सिग्देलले आगामी दिनमा चुरेक्षेत्रको संरक्षणमा टेवा पुग्ने र बढीभन्दा बढी जनताले लाभ पाउने गरी प्रभावकारी रूपमा कार्यक्रमलाई अगाडि बढाउने सुझाएका थिए ।