कारोबार संवाददाता
सोमवार, असार ३२, २०७५
354

विराटनगर-सिफारिसलगायत विभिन्न नाममा वृद्धि गरेको करका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर समिति विराटनगरले विरोध जनाएको छ ।
तत्काल कर वृद्धि फिर्ता गर्न माग गर्दै आइतबार महानगर प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाएका छन् । महानगरले अंगीकृत नागरिक, जन्मदर्ता, मृत्यु दर्तालगायत व्यावसायिक भवन, महल, अस्पताल, निजी विद्यालय र उद्योगमा वृद्धि गरेको करका विरुद्ध नेकपा नगर समिति विरोधमा उत्रिएको हो । महानगर प्रमुख पराजुलीलाई बुझाएको ज्ञापनपत्रमा साउन ७ गतेभित्र फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । “छलफल नै नगरी आफूखुसी वृद्धि गरेको कर साउन ७ गतेभित्र फिर्ता नभए चरणबद्ध आन्दोलनमा उत्रिन्छौं,” नेकपा नेतृ नमिता न्यौपानेले भनिन्, “आन्दोलन गर्ने अवस्था नआओस् भनेर ज्ञापनपत्र बुझाएका हौं ।”
नेकपा विराटनगरका नेता सागर थापाले महानगरपालिका प्रमुख पराजुलीले एकलौटी १५० वटाभन्दा बढी टेण्डर वडामार्फत नगरेर आफैंले हचुवाको भरमा आह्वान गरेको आरोप लगाए । “विधि र प्रक्रियाअनुसार महानगर अहिले चलिरहेको छैन भन्ने हामीले महसुस गरिरहेका छौं,” थापाले विराट सन्देशलाई भने, “एकलौटी ढंगबाट गरिने टेण्डर आह्वान मान्य हुँदैन ।”
पराजुलीले करको दर वृद्धि स्वाभाविक भएको जिकिर गरे । अन्य नगरपालिका, महानगरपालिकाको भन्दा विराटनगरमा करको दर कम रहेको दाबी गर्दै पराजुलीले भने, “कर संकलन नभई विराटनगरको विकासको सपना पूरा गर्न सकिँदैन । सामान्य मात्रै वृद्धि गरिएको छ । जनताले थाम्नै नसक्ने कर वृद्धि गर्ने पक्षमा महानगर पनि छैन ।”