कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५
652

अर्थ मन्त्रालयसँग विगत पाँच आर्थिक वर्षको राजस्व, पुँजीगत खर्च र वैदेशिक सहायता तथा आयात निर्यातको अवस्थासम्बन्धी विवरण माग गर्ने निर्णय पनि गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि अधिनायकवादी भएको आरोप लगाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद्ले भने अर्थ मन्त्रालयका कर्मचारीमाथि अधिनायकवादी र सामन्तीको आरोप लगाएका छन् ।
पहिलो बैठकले अर्थ मन्त्रालयसँग विगत पाँच आर्थिक वर्षको राजस्व, पुँजीगत खर्च र वैदेशिक सहायता तथा आयात निर्यातको अवस्थासम्बन्धी विवरण माग गर्ने निर्णय पनि गरेको छ । प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिको सोमबार सिंहदरबारमा बसेको पहिलो बैठकमा नेकपाका सांसदले अर्थ मन्त्रालयका कर्मचारीले अरू मन्त्रालयले पठाएका फाइल अड्काएर अधिनायवादी चरित्र देखाएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद महेश बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीले अरु मन्त्रालयका मन्त्री र सचिवले पठाएका फाइल रोकेर आफूलाई अरुभन्दा क्षमतावान भएको देखाउने प्रवृत्ति रहेको भन्दै यस विषयलाई एजेण्डा बनाएर छलफल गरिनुपर्ने बताए । उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाका जमदार र सुवेदारले अवकाश पाउँदा पाउने सुविधाका विषयमा पठाएको फाइल अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुखले तीन पटक फर्काएको भन्दै यस विषयलाई गम्भीर रुपमा लिइनुपर्ने बताए ।
बैठकमा नेकपाकै सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्षको अन्तिममा आएर पुँजीगत बजेट खर्च गर्ने प्रवृत्ति रोक्न समितिले ठोस भूमिका निर्वाह गर्नुपर्ने बताए । यस्तै नेकपाका अर्का सांसद मोतीलाल दुगडले उद्योगी व्यवसायीले जुनसुकै काम गराउनुपर्दा पनि सरकारी निकायमा घुस खुवाउनुपर्ने वाध्यता रहेको भन्दै समितिले भ्रष्टाचार नियन्त्रणलाई मुख्य मिसन बनाएर काम गर्नुपर्ने बताए ।
समितिको पहिलो बैठकमा २५ मध्ये १६ सदस्य उपस्थित थिए । निर्धारित समयभन्दा ४० मिनेट ढिला सुरु भएको बैठकको अध्यक्षता उमेरका आधारमा चौथो नम्बरमा पर्ने ६२ वर्षिय तुलसा थापाले गरेकामा बैठकको अन्तिममा ज्येष्ठ सदस्य महन्थ ठाकुर उपस्थित भएका थिए । पूर्वअर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, विष्णु पौडेल र ज्ञानेन्द्रबहादुर कार्की भने बैठकमा अनुपस्थित थिए ।