सरस्वती ढकाल
मंगलबार, श्रावण २२, २०७५
889

भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारेको छ । दुईतिहाई बहुमतप्राप्त सरकारबाट हामी निजी क्षेत्रले धेरै अपेक्षा गरेका छौं । लामो समयपछि स्थिर सरकार गठन भएको पनि अहिलेसम्म भाषण बढी र व्यावहारिक काम निकै कम पाएका छौं । साँच्चिकै आर्थिक समृद्धि चाहेको हो भने अब उत्पादनमूलक उद्योग बढाउनुपर्छ । सुरुवाती चरणमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन त गर्न सकिन्छ । देशमा उद्योग कलकारखाना नखुलेसम्म जति नै समृद्धिको नारा अगाडि सारेपनि त्यसले सार्थकता पाउन सक्दैन ।
हामी दिनानुदिन व्यापारघाटाको चपेटामा परिरहेका छाँं । पछिल्लो तथ्यांक हेर्दा पनि गत आर्थिक वर्ष (२०७४-७५) मा देशको व्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेकोे छ । यो घाटा आव २०७३-०७४ को तुलनामा २७.५३ प्रतिशत बढी हो । यसरी आयात बढ्दै जाने तर निर्यात नबढ्नु देशको आर्थिक विकासका लागि उचित संकेत पक्कै होइन । सरकारले उत्पादनमूलक उद्योगलाई प्याकेजमा सुविधा ल्याउनुपर्छ । उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखिएको छ भनेरमात्रै भएन उत्पादन बढाउने आधार पनि तय गरिनुपर्छ । कम्तिमा १,२,३ गरेर आधारहरू तय गर्थ थालियो भने मात्रै केही आशा जगाउन सकिएला तर भाषणले मात्रै अब विश्वास गर्न सकिंदैन । हामी उद्योगी व्यवसायीले धेरै भाषण सुनिसकेका छौं र अब कार्यान्वयनको पर्खाइमा छौं ।
हामीले गत आर्थिक वर्षमा १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेका छौं । जबकि हामी ८१ अर्ब १९ करोड रुपैयाँको वस्तु निर्यात गरेर चित्त बुझाउनु परेको छ । अबको केही महिनामा देशको कुल बजेटभन्दा पनि व्यापारघाटा धेरै हुने निश्चित छ । यस्तो अवस्थामा हामीले आफ्नो उत्पादन बढाउन सकेनौं भने व्यापारघाटाको बोझ एकपछि अर्काे गर्दे थपिँदै जान्छ । हामी २० वर्ष पुराना ऐन कानुन र नियममा चलेका छौं, यसले आर्थिक समृद्धि दिन सक्दैन । युवा जनशक्तिहरू विदेशिन बाध्य छन्, त्यसका लागि देशमै काम गर्ने वातावरण हुनुपर्छ । हामीले रेमिट्यान्सबाट आर्जन गरेको रकमले इन्धन समेत खरिद गर्ने पुगेको छैन । तथ्यांकअनुसार पेट्रोलियम पदार्थमात्रै झन्डै १ खर्ब ९७ अर्ब ८५ करोडको आयात भएको छ । त्यसै गरी आइरन तथा स्टील, मेसिनरी समान, सवारी साधन, विद्युतीय सामानमा आयातमा बढोत्तरी भएको छ ।
नेपालबाट विश्व बजारमा भएको व्यापारमध्ये ५७.४ प्रतिशत छिमेकी मुलुक भारतमा भएको छ भने अमेरिकामा ११.३ प्रतिशत, जर्मनमा नौ प्रतिशत, टर्कीमा ५.८ प्रतिशत र अन्य देशमा २१.७ प्रतिशत निर्यात भएको छ । यसबाट हामीले अब भारतसँगको व्यापारमा भारत लगायत धेरै आयात हुने देशको आयात प्रतिस्थापनमा ध्यान दिनु जरुरी देखिएको छ । हाम्रो कुल निर्यातले पेट्रोलियम पदार्थको मात्रै आयात पनि धान्न सकेको छैन । खासगरी हामीले कफी, कच्चा धागो, कार्पेट, तयारीपोसाक लगायतका सामग्री निर्यात गरेको छ । हामीले गर्ने निर्यात परिमाणका आधारमा धेरै देखिए पनि रकमका आधार निकै कम छ । अब पनि सरकारले व्यापारघाटा न्यूनीकरण गर्ने उपाय अवलम्बन गर्न सकेन भने भोलिका दिनमा भयावह अवस्था सिर्जना हुन्छ ।