निरु अर्याल
बुधवार, श्रावण २३, २०७५
611

अर्थमन्त्री डा.युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्नका लागि सहयोग दोब्बर पार्न विकास साझेदारहरूसँग आग्रह गरेका छन् । विश्व बैंकको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री खतिवडाले नेपाललाई सहयोग गर्ने द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग सहयोग दोब्बर पार्न आग्रह गरेका हुन् । सो अवसरमा उनले स्थानीय तहको क्षमता, विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजस्वको दिगोपना, समग्र व्यावसायिक वातावरणका विषयमा पनि जानकारी गराएका छन् ।
खतिवडाले दिगो विकास लक्ष्य निकै महत्वकांक्षी रहेको र हासिल गर्न पर्याप्त स्रोत चाहिने भन्दै विकास साझेदारहरूले अहिले गर्दै आएको सहयोग दोब्बर पार्नुपर्ने बताए । नेपाललाई मध्यमस्तर भएको मुलुकको सूचिमा पु-याउन ठूलो लगानी चाहिने भन्दै त्यसका लागि विश्व बैंक समूहकै अन्तर्राष्ट्रिय विकास संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अर्थमन्त्री खतिवडाको भनाइ छ । सो अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक विकासका लागि नेपालमा सही समय आएको भन्दै सरकारले आवश्यक नीतिगत सुधार गर्नेमा विश्वस्त हुन आग्रह समेत गरे ।
छलफलमा विकास साझेदार संस्थाका प्रतिनिधिले सहयोग बढाउन तयार रहेको भन्दै संघीयतालाई आर्थिक विकासको अवसरकारूपमा सदुपयोग गर्न अर्थमन्त्री खतिवडालाई सुझाव दिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो अवसरमा विश्व बैंकको अन्तर्रा्ष्टिय विकास सहयोग र अन्तर्राष्टिङय वित्त नियोगका अतिरिक्त क्षेत्रीय कोषहरू लगायतबाट नेपालको ऊर्जा, यातायात लगायतका पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री खतिवडाले विश्व बैंकले सन् २०१९ देखि २०२३ सम्मका लागि तयार पारेको पाँच वर्षे साझेदारी खाकालाई अन्तिम रूप दिन बैंकको उच्च व्यवस्थापनसँगको छलफलमा सहभागी गर्ने कार्यक्रम पनि छ । विश्व बैंकसँग छलफल सकेर खतिवडा शनिबार नेपाल फर्किँदै छन् ।