सागर परियार
बुधवार, श्रावण २३, २०७५
549

जुम्ला-भेडाबाख्रापालन जुम्लाका बासिन्दाको पुख्र्यौली पेसा हो । बाउबाजेको पालादेखि सुरु भएको भेडाबाख्रा पालनलाई छोरानातीले पनि निरन्तरता दिएका छन् । तर बेलाबेलामा लाग्ने रोग, उपयुक्त खोरको अभाव र दाना व्यवस्थापनको समस्याले केही वर्षअघि यो व्यवसाय नै संकटमा पर्ने अवस्था आएको थियो ।
तीन वर्षअघि आएको बाढी पहिरोले जुम्लामा करोडौं मूल्य बराबरका भेडाबाख्रा बगाएको थियो । तर, पछिल्लो समयमा विभिन्न गैरसरकारी संस्थाले स्थानीयको जीवनस्तरमा सुधार ल्याउन तरकारी खेती, सिपमूलक कार्यक्रम, आधुनिक खोर निर्माणलगायतका कार्यक्रम सञ्चालन गरेपछि अहिले स्थानीयको दैनिकी बदलिएको छ ।

सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनाले आधुनिक खोर निर्माणमा सहयोग गरेपछि जुम्लाको पुख्र्यौली व्यवसायको रुपमा रहेको भेडाबाख्रापालन व्यवसायमा क्रमिक सुधार आउन थालेको छ । बाढीपहिरोले भेडाबाख्रा बगाएपछि तर्सिएका जुम्ली भेडाबाख्रापालकहरू आधुनिक खोर निर्माण हुँदा धमामध यसतर्फ पुनः आकर्षित भएको तिला गाउँपालिका–३ का भेडापालन कृषक कर्णबहादुर शाहीले बताए । “विकास परियोजनाले तिला गाउँपालिका–३ रावतबाँडा गाउँका झन्डै १ सय बढी घरधुरीमा आधुनिक खोर निर्माण गरेको छ,” उनले भने, “गाउँका प्रत्येक घरमा खोर निर्माण गरेसँगै भेडापालन व्यवसायी बढेका छन् ।”
परियोजनाको सहयोगले आधुनिक खोर निर्माण भएपछि भेडाबाख्रा पाल्न, दाना दिन तथा मलमूत्र व्यवस्थापन गर्न सहज भएको अर्का भेडाबाख्रापालक कृषक कमारो बुढाले बताए । खोर सफा रहने र भेडाबाख्रा पनि स्वस्थ्य रहने आधुनिक खोरका फाइदा धेरै रहेको कृषकको भनाइ छ । पुख्र्यौली पेसालाई आधुनिकता दिन खोर निर्माणले पुलको काम गरेको अधिकांश किसानको बुझाइ छ ।

दुई सयभन्दा बढी आधुनिक खोर निर्माण
भेडाबाख्रालान व्यवसायबाट स्थानीयको जीवनस्तर सुधार गर्ने उद्देश्यले सेडा नेपालद्वारा सञ्चालित विकास परियोजनाले जुम्लामा दुई सयभन्दा बढी आधुनिक खोर निर्माण गरेको छ । ती मध्य ३२ वटा खोर भने ठूला रहेको विकास परियोजनाका प्रमुख दशरथ उपाध्यायले जानकारी दिए । उनका अनुसार ३२ वटा ठूला खोर निर्माण गर्न प्रतिखोर १ लाख ५० हजार रुपैयाँका दरले ४ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । बाँकी मझौला खोर १५ हजार रुपैयाँदेखि बढी लागतमा निर्माण गरिएका हुन् । तिला गाउँपालिका–३ को रावतबाडा गाउँलाई आधुनिक खोर निर्माण युक्त गाउँ घोषणा गर्दा पनि फरक नपर्ने विकास परियोजना संयोजक उपाध्यायले बताए ।
विकास परियोजानले आधुनिक खोरबाट भेडाबाख्राको मलमुत्र व्यवस्थापन तथा बालीनालीमा हाल्ने विषयमा पनि बेला बेला सिकाउने गरेको छ । गाउँमै गएर पशु स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने गरिएको छ ।