लक्ष्मी सापकोटा
बिहिवार, श्रावण २४, २०७५
460

मुलुकमा बर्सेनि व्यापारघाटा बढ्दै गएपछि दुई मुलुकबीच हुन लागेको वैठकमा पनि यसैसम्बन्धी एजेण्डाले प्रवेश पाएको छ । बिहीबारदेखि नयाँ दिल्लीमा सुरु हुने वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी दुवै देशका सहसचिवस्तीय बैठकमा व्यापारघाटा न्यूनीकरण गर्ने मुख्य एजेन्डाको रूपमा प्रस्तुत गरिने भएको छ । बैठक बिहीबार र शुक्रबार चल्नेछ ।
वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय बैठकमा नेपालका तर्फबाट व्यापारघाटालाई कसरी कम गर्ने भनेर मुख्य एजेन्डाका रूपमा राखिने मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा जाने नेपाली प्रतिनिधिले भारत र नेपालबीचको वाणिज्य सन्धि पुनरावलोकन गर्नका लागि पहिलो चरणमा छलफल गर्नेछ । “भयावह अवस्थामा पुगेको मुलुको व्यापारघाटा कसरी न्यूनीकरण गर्ने भनेर छलफलमा प्रस्तुत गर्ने छौं,” मन्त्रालयका सहसचिव सैजुले भने, “भारतसँगको बढ्दो व्यापारघाटा कम गर्न वाणिज्य सन्धिमै लगानी भित्राउने प्रस्तावसमेत गर्नेछौं ।”
हाम्रो अधिकांश व्यापार भारतसँग रहेको छ । उनले भने, “भारतबाट लगानी भित्र्याएर निर्यात बढाउनका लागि वाणिज्य सन्धिमा नै लगानी प्रस्ताव गर्न लागेका छौ ।” पुराना सन्धिमा भएका व्यापारलाई उपयुक्त नहुने प्रावधानहरूलाई हटाएर स्वदेशी वस्तुको निर्यात कसरी बढाउने भनेर नयाँ व्यवस्थाको विषयमा छलफल गरिने उनको भनाइ छ । व्यापारघाटा कम गर्ने, लगानी भित्र्याउने र निर्यात प्रवद्र्धन कसरी गर्ने यी लगायतका अन्य के के विषयमा पुनरावलोकन गर्ने भनेर बैठकमा छलफल गरिने उल्लेख छ । सैंजु भन्छन्, “सन्धिलाई दुई महिनाभित्रमा सम्पन्न गर्नेगरी काम अगाडि बढाइरहेका छौ ।” भारतसँग व्यापार बाहेक नेपालमै उनीहरूको लगानीमा उद्योग खोल्न सक्दा त्यसबाट उत्पादकत्व बढ्ने उनको भनाइ छ । स्वदेशी उत्पादित सामान निर्यात गर्ने ठूलो बजार भारत नै भएको उल्लेख गर्दै उनले भने, “उनीहरूकै लगानीमा खुलेको उद्योगले उत्पादन गरेका सामान भएपछि सजिलै निर्यात पनि गर्न सकिन्छ ।”
भारतीय लगानीमा उत्पादनको क्षेत्रका उद्योगहरू भित्र्याउन सके केही हदसम्म व्यापारघाटा कम गर्न सकिने सैंजुको भनाइ छ । स्वदेशी वस्तु निर्यातमा देखिएका विभिन्न अवरोध हटाउने विषयमा समेत छलफल गरिने मन्त्रालयले जानकारी दिएको छ । भारतमा अधिकांश स्वदेशी वस्तु निर्यातको लागि भन्सार छुटको सुविधा भएपनि बेलाबेलामा हुने अवरोधले निर्यातमा समस्या आउने गरेको विषयमा समेत छलफल गरिने छ । गत वैशाखमा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठकमा वाणिज्य र व्यापार सन्धि पुनरावलोकन गर्ने सम्झौता गरेको थियो । सोहीअनुसार छलफल गर्नका लागि नेपाली प्रतिनिधिमण्डल दिल्ली गएको हो ।
छलफल मुख्यगरी भारतीय लगानीका उद्योग भित्र्याउनेदेखि व्यापारघाटा कम गर्ने र व्यापार सहजीकरणका विषयमा केन्द्रित रहने मन्त्रालयले जानकारी दिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी आयात र व्यापारघाटा भारत रहेकोे छ  । भारतबाट मात्रै ८ खर्ब १० अर्ब ९० करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको आयात भएको छ भने निर्यात ४६ अर्ब ६० करोड ४९ लाख ५६ हजारमात्रै छ । यसअघि सन् २००९ को नेपाल भारत वाणिज्य सन्धि संशोधन भएको थियो । नेपालको कमजोर व्यापार नीतिका कारण अधिकांश देशहरूसँग व्यापारघाटा रहेको छ । नेपालको तर्फबाट सैजुको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिसहित दिल्लीमा दुई देशका अधिकारीका बीचमा अगष्ट ९ र १० मा छलफल हुने छ ।