रासस
बिहिवार, श्रावण २४, २०७५
282

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७४-७५ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ ।
ट्राफिक नियम विपरीत सवारीसाधन चलाएका सात हजार ८२४ चालकलाई कारवाही गरिएको थियो । यस क्रममा ६१५ ट्रक चालक, ६४१ बस चालक, तीन हजार २८९ कार-जीप चालक, दुई हजार १६१ मोटरसाइकल-स्कुटर चालक, एक हजार ९८ ट्र्याक्टर चालक तथा अन्य सवारीसाधनका २० चालक कारवाहीमा परेका हुन् । सवारी दर्ता, नामसरी, सवारी चालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नविकरण नगर्ने चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी प्रमुख छबबहादुर घर्तीले जानकारी दिए ।
ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजश्व बढ्दै गएको घर्तीले बताए । आव २०७३-७४ मा सवारीसाधनका चालकलाई कारवाही गरी रु ५१ लाख १० हजार राजश्व सङ्कलन गरिएको थियो । “सवारी नियम उल्लङ्घन गर्ने चालकलाई अझै कडाइ गर्छौं,” उनले भने ।