कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
2445

गभर्नर भन्छन् : प्रहरीले अपराधीलाई गरेजस्तो व्यवहार गर्नु नपरोस्

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउन नमान्ने बैंकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) २ प्रतिशतले घटाएसँगै बजारमा पर्याप्त तरलता रहेको भन्दै बैंकहरूले अब कर्जाको ब्याजदर घटाउनुपर्ने र घटाउन नमान्नेमाथि कठोररूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।
नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकरहरुलाई चेतावनीको शैलीमा भने, “प्रहरीले अपराधीलाई गरेजस्तो व्यवहार गर्नु नपरोस् ।” राष्ट्र बैंकका अनुसार बजारमा अहिले ६६ अर्ब तरलता छ । “बैंकहरूले ब्याजदर घटाउन कुनै पनि बहानाबाजी गर्न नपाउने भन्दै घटाउन आनाकानी गर्नेमाथि राष्ट्र बैंक खरोरूपमा प्रस्तुत हुनेछ,” नेपालले केही बैंकरहरूको नामै लिएर भने, “सीआरआर, एसएलआरलगायतका मौद्रिक उपकरण, विदेशबाट ऋण ल्याउन सक्ने व्यवस्थालगायतका कारण बजारमा लगानीयोग्य रकमको अभाव हुँदैन ।” चालू आर्थिक वर्षको मौद्रिक नीतिले वैधानिक तरलता अनुपात (एसएलआर) वाणिज्य बैंकलाई १२ प्रतिशतबाट घटाएर १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र फाइनान्स कम्पनीका लागि ८ प्रतिशतबाट ७ प्रतिशतमा झारेको छ । यस्तै, पछिल्लो तीन हप्तामा राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत ९३ अर्ब २५ करोड रुपैयाँ तरलता बजारबाट उठाएको छ । यसले पनि अब ब्याजदर घट्न सहज हुने गभर्नर नेपालको भनाइ छ । अहिले अधिकांश बैंकको बेसरेट (आधार मूल्य) नै बढी भएकाले ऋणको ब्याजदर घट्न सकेको छैन । अधिकांश बैंकहरूको बेसरेट ११ प्रतिशतसम्म छ ।
कार्यक्रममा नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई दिएको सीआरआर (अनिवार्य नगद अनुपात) सीमामा कमी, विदेशबाट साथै भारतबाट पनि ऋण ल्याउन सक्नेजस्ता सुविधाले त्यसको असर देखिन आर्थिक वर्षको कम्तीमा एउटा त्रैमाससम्म कुर्नुपर्ने बताए । असोज महिनाअगाडि कर्जाको ब्याजदर घटाउन नसकिने उल्लेख गर्दै उनले भने “ब्याजदर एकैपटक घट्दैन, ब्याजदर घट्न कम्तीमा पनि पहिलो त्रैमासम्म कुर्नुपर्छ ।” मौद्रिक नीतिले क, ख र ग वर्गमा बैंकलाई अनिवार्य नगद अनुपात (सिआरआर) ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअघि वाणिज्य बैंकले ६ प्रतिशत, विकास बैकले ५ प्रतिशत र फाइनान्स कम्पनीले ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो । ढुंगानाले भने “हाल लगानीकर्ताले १०-१५ प्रतिशत प्रतिफल पाउँछन भन्यो भने निराश हुने हुँदा योभन्दा बढी प्रतिफल आउने अवस्था छैन ।” दूर्गममा शाखा खोलेकोले बैंकहरूको सञ्चालन खर्च बढेको, निक्षेपको सुरक्षण २ लाखबाट ३ लाख रुपैयाँसम्म पु-याइएको लगायत कारणले पनि नाफा धेरै बढ्न नसक्ने उनले बताए ।
गभर्नरले नेपालले बैंकमा पर्याप्त तरलता रहेका बेला कर्जा लिनुको साटो तरलता अभावका बेला कर्जा पाइएन भनेर गुनासो गर्ने काम बन्द गर्न उद्योगी व्यवसायीसँग आग्रह गरे । ढुंगानाले सीआरआर घटेपनि अधिकांश बैंकहरूको आधार दर अझै पनि दोहोरो अंकमा रहेकाले कर्जाको ब्याजदर ७-८ प्रतिशतमा झार्न सम्भव नरहेको बताएका थिए । वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर ११ प्रतिशतभन्दा माथि रहेकामा नेपाल उद्योग वाणिज्य महासंघले बुधबार वीरगञ्जमा राष्ट्रिय भेला गरी उद्योग व्यावसायको क्षेत्रमा ८ प्रतिशतभन्दा न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको थियो ।

पर्याप्त लगानीको सम्भावना छ : अर्थमन्त्री खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि कुनै किसिमको समस्या नरहेको दाबी गरेका छन् । विश्व बैंकको बैठकमा भाग लिन अमेरिका पुगेका अर्थमन्त्री खतिवडाले वासिंगटन डीसीमा गरिएको नेपाल डे कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कर प्रणाली पारदर्शी रहेको र कानुनी झन्झट नरहेको भन्दै लगानी बढाउन बैंकको व्यवस्थापनसँग आग्रह गरे । विश्व बैंक र विश्व बैंक समूहका नेपाल हेर्ने प्रमुख व्यक्तिको उपस्थितिमा गरिएको कार्यक्रममा मन्त्री खतिवडाले नेपाल सबै किसिमको लगानीको सुरक्षाप्रति प्रतिबद्ध रहेको रहेको जानकारी दिए ।
कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले बैंकले नेपाललाई उच्च प्राथमिकतामा राखेको र त्यहि कारण दुई वर्षदेखि नेपालमा कर्मचारीको संख्या बढाएको बताएका थिए । विश्व बैंकको निमन्त्रणामा गत शुक्रबार अमेरिका प्रस्थान गरेका खतिवडाले नेपालमा सरकारको प्राथमकतामा सञ्चालित विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट थप सहयोगकालागि आग्रह गरेका छन् ।
बैंकले नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप दिने छलफलमा भाग लिन मन्त्री खतिवडालाई आमन्त्रण गरेको हो ।