कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५
2399

विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले बढाउने भएको छ । सन् २०१९ देखि बैंकले नेपाललाई दिने सहयोग चालू वर्षको भन्दा दोब्बर ले बढ्ने अर्थमन्त्री खतिवडाले जानकारी दिए । विश्व बैंकको निमन्त्रणामा गत साता अमेरिका गएका खतिवडाले शनिबार अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, “सन् २०१८ मा प्राप्त भइरहेभन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने छ ।” उनले २०१९ देखि २०२३ सम्म हुने सहायता, रणनीतिको खाकाअनुसार नेपालको प्राथमिकताअनुरूप कार्यक्रमहरू अब कार्यान्वयनमा क्रमशः आउने जानकारी पनि दिए ।
सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी वासिङटन डिसी पुगेका खतिवडा साताब्यापी भ्रमण सकेर शनिबार स्वदेश फर्केका हुन् । मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुन लागेको जानकारी दिए ।

हाल बैंकले नेपालमा हाल करीब २ अर्ब ७० करोड डलर अर्थात दुई खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको छ । नेपालमा विश्व बैकका २१ वटा परियोजना सञ्चालनमा छन् । अर्थमन्त्री खतिवडाले सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको पनि जानकारी दिए ।
“नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने छ,” उनले भने, “यस विषयमा सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भइ बैंकले समेत पारित गरिसकेको छ ।” नेपालले भूकम्पपछिको पुनःनिर्माणका लागि समेत सो बैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ ।
खतिवडाले केही ठूला र वहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजेको जानकारी दिए । यस्तै संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाको भनाइ छ । मन्त्री खतिवडाले गत सोमबार २२ विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । उनले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजस्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी दिए ।
खतिवडाले विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरबीच पनि भेटवार्ता गरेका थिए । “दातृ निकायले नै नेपालको विकासको अयो अभूतपूर्व अवसर हो, यसलाई उपयोग गर्नुपर्छ, हामी सबै जुटौं भन्नु भएको छ” स्वदेश फर्केपछि खतिवडाले भ्रमणको अनुभव सुनाउँदै भने, “द्विपक्षीय रूपमा अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरूसँग पनि कुराकानी भयो, नेपाल र अमेरिका बीचमा आर्थिक कूटनीतिलाई अगाडी बढाउन पनि हम्रो यो भेटघाट र छलफल सहयोगी भएको मैले अनुभव गरेको छु ।” उनले खासगरी सहयोगपूर्ण ऋणबाहेक अन्तरराष्ट्रिय वित्त निगमले पनि आफ्नो पोर्टफोलियो निकै गुणा बढाउने पनि बताए ।
“यसका साथै निजी क्षेत्रको सहयोग परिचालन गर्ने विषय पनि छ । जोखिमयुक्त मुलुकले पाउने थप सहयोगको विषय पनि छ, यसमा पनि कुराकानी भएको छ” मन्त्री खतिवडाले भने । खतिवडाले विश्व बैंक आफैले पनि सम्भावनाको खोजी गरेर लगानी बढाउन आग्रह गरेको जानकारी दिए । सो अवसरमा संघीयता कार्यान्वयको सिलसिलामा संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय सन्तुलन कायम गर्ने र वित्तीय व्यवस्थापन कसरी पुरा गर्ने भन्ने विषयमा पनि छलफल भएको र संघीयता कार्यान्वयनमा विश्व बैंकले सघाउने प्रतिबद्धता प्राप्त भएको उनको भनाई छ ।
खतिवडाले नेपाललाई संघीयता कार्यान्वयनका लागि चाहिने साधन स्रोतका सम्बन्धमा विश्व बैंकलाई नेपालको प्राथमिकता र विकासको आवश्यकताअनुसार सहयोग गर्न आग्रह गरेको पनि जानकारी दिए ।