कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
295

लगानीकर्ताहरूका लागि अवसर वृद्धि गर्न पुँजीबजारलाई प्रादेशिक तहमा समेत विस्तारित गरिनु उत्तिकै आवश्यक छ ।

विगत केही वर्षयता मुलुकको एकमात्र पुँजीबजारमा सर्वसाधारण लगानीकर्ताको संख्या उत्साहवद्र्धक ढंगले वृद्धि हुँदै गइरहेको छ । सेयर कारोबारलाई अनलाइन प्रणालीमा आवद्ध गरिएसँगै देशभर १४ लाख ५३ हजार सेयर लगानीकर्ता रहेको तथ्यांक सार्वजनिक भएको छ । यो निकै उत्साहजनक सहभागिता हो । बैंक तथा वित्तीय संस्थाहरू मात्र होइन, जलविद्युत्जस्ता पूर्वाधार कम्पनीहरूको पनि सेयर सर्वसाधारणका लागि खुल्ला गरिँदा उत्साहजनक सहभागिता रहने गरेको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले हालै गरेको एक अध्ययनमा जलविद्युत् आयोजनाहरू बनाइँदा स्थानीयवासीहरूलाई सेयर छुट्ट्याउने नेपालको आफ्नो विशिष्ट मोडल भएको उल्लेख गरेको थियो । जलविद्युत् आयोजनाको सेयरका लागि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफ्नो सम्पत्तिसमेत धरौटीमा राखेर लगानी गर्ने गरेको उक्त अध्ययनमा उल्लेख गरिएको छ । सरकारले आयोजनाबाट प्रभावित समुदायका लागि जलविद्युत विकासकर्ताहरूले आफ्नो कुल पुँजीको १० प्रतिशतसम्म सेयर प्रदान गर्नुपर्ने अनिवार्य व्यवस्था गरेसँगै यस्तो सेयरमा लगानी बढेको हो । खास गरी चिलिमे जलविद्युत् आयोजनाबाट सुरु भएको यो मोडलको कार्यान्वयनसँगै प्रभावित क्षेत्रका बासिन्दाले मात्र अरुले पनि जलविद्युत्को सेयर किन्न चासो देखाउने क्रम बढेको छ । जलविद्युत् आयोजनाहरूको प्रतिफल दर बढी हुने भन्ने हल्लाकै भरमा यस्तो सेयर सहभागिता बढेको हो । जलविद्युत्बाहेक विगत लामो समयदेखि नै नेपालका सबैजसो बैंक वा वित्तीय कम्पनीको प्राथमिक निष्कासन (आईपीओ)को आह्वान हुँदा सर्वसाधारणको सेयर लगानीका लागि उत्साहजनक सहभागिता देखिने गरेको छ ।
सेयर बजारमा साना लगानीकर्ताहरूको जुन ढंगले सहभागिता बढ्दै गएको छ, त्यसको तुलनामा उनीहरूलाई सचेत तुल्याउने, सेयर लगानीसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने, बजार जोखिमबारे सावधान गराउने काम भने भइरहेको देखिँदैन । सोही कारण बजारमा थोरै उतारचढाव हुँदा पनि लगानीकर्ताहरू अतालिने गरेका छन् । सेयर बजारलाई कतिपय पूर्वमन्त्रीहरूले जुवाको खाल भन्नेजस्ता हचुवा अभिव्यक्ति पनि दिए । तर, पुँजी बजार जुवाको खालजस्तो सर्वश्व दाउमा लगाउनुपर्ने क्षेत्र भने होइन । यहाँ कम्पनीहरूको वित्तीय प्रगति र अर्थतन्त्रको बहावका आधारमा उतारचढाव भइरहेको हुन्छ, तर वास्तविकता के हो भने अधिकांश लगानीकर्ताले सूचीकृत कम्पनीहरूको वित्तीय विवरण हेरेर भन्दा हल्लाको भरमा, बजार मध्यस्थकर्ता र स्वघोषित बजारविज्ञहरूको लहलहैको भरमा लगानी गर्ने गरेका छन् ।
सेयर लगानीमा हुन सक्ने जोखिम न्यून गर्न बढीभन्दा बढी पुँजी बजारसम्बन्धी शिक्षाको विस्तार गर्नुपर्ने खाँचो बढ्दै गएको छ भने बजार नियमनमा सुधारको आवश्यकता पनि बढ्दै गएको छ । विद्यमान नियमन संयन्त्रले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकै कारण अहिले विभिन्न किसिमका समस्या दोहोरिने गरेको छ । नेपाल स्टक एक्सचेन्जलाई अनलाइन प्रविधिमा स्तरोन्नति गर्नका लागि जडान गरिएको सफ्टवेयर कमसल भएकै कारण पटक–पटक कारोबार अवरुद्ध भइरहेको छ भने अन्य बजार सूचना प्रवाहमा समेत समस्या देखिएको छ । पुँजी बजारको नियमनकर्ता निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष नै विरुद्ध अहिले सेयर दलालहरूले आन्दोलन घोषणा गरेको अवस्था छ । यीलगायतका समस्याहरूलाई उचित सम्बोधन गरेर अब नयाँ ढाँचाबाट देशको पुँजीबजारलाई पुनर्संरचित र व्यवस्थित गरेर लैजानुपर्ने बेला भएको छ । आउँदा दिनमा लगानीकर्ताहरूका लागि अवसर वृद्धि गर्न पुँजीबजारलाई प्रादेशिक तहमा समेत विस्तारित गरिनु उत्तिकै आवश्यक छ ।