मेगराज खड्का
बिहिवार, भदौ २८, २०७५
265

रुकुम-रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माविको छात्रवास तथा प्रशासनिक भवन निर्माण थालेको एक दशक पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । भारतीय दूतावासको आर्थिक सहयोगमा तत्कालीन जिल्ला विकास समितिमार्फत ठेक्का आह्वान भई काम सुरु भएको थियो ।
आव ०६६÷६७ मा कामको थालनी भए पनि करिब ९ वर्षसम्म पनि निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले विद्यालयलाई भवन हस्तान्तरण गर्न सकेको छैन । २ वर्षभित्र भवन निर्माण सकी विद्यालयलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । हाल १५ वटा कोठासहितको भवन निर्माण भए पनि फिनिसिङको काम बाँकी छ । भवन निर्माण भएको लामो समय बितिसक्दा पनि भवनको झ्यालढोका र रंगरोगनसहितको काम अझै अधुरै छ । विद्यालय भवन निर्माण सम्पन्न नभएर विद्यालयलाई हस्तान्तरण नहुँदा सञ्चालन गर्ने भनिएको छात्रवास र व्यवस्थित प्रशासनिक कामकाज प्रभावित बनेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालले जानकारी दिए । उनका अनुसार उक्त भवन निर्माणको काम नसकिएका कारण दूतावासबाट त्रिभुवन मावि र जिल्लाका अन्य शैक्षिक संस्थामा दिने अन्य सुविधासमेत रोकिएको छ । “विद्यालय भवन निर्माण सम्पन्न भएर विद्यालयलाई हस्तान्तरण नहुँदा छात्रवास र प्रशासनिक भवनको काम त रोकिने भयो नै दूतावासबाट जिल्लामा आउने अन्य सहयोग पनि रोकिएको छ,” उनले भने, “दूतावासले जिल्लामा दिएको एउटा आफ्नो आयोजना सम्पन्न भएर हस्तान्तरण नभएसम्म अर्को योजना दिने गरेको छैन, जसले गर्दा हाम्रो विद्यालयलगायतका अन्य संस्थाका लागि दिने तयारी गरिएको पुस्तकालय, एम्बुलेन्सलगायतका अन्य सुविधा पनि रोकिएका छन् ।”

२ करोड ७८ लाखमा ठेक्का
२ करोड ७८ लाखको लागतमा भवन निर्माण सम्पन्न गर्ने ठेक्का थियो । उक्त ठेक्का स्वच्छन्द कन्ट्रक्सन प्रालिले पाएको थियो भने जिल्लामा भवन निर्माण गर्ने जिम्मा उक्त निर्माण कम्पनीमार्फत टेकबहादुर पुनले लिएका थिए । भवन निर्माणको पहिलो किस्ता ल्याइरहेको भए पनि भवन निर्माणको काम सम्पन्न नभएका कारण अन्तिम किस्ता भने अझै पनि भुक्तानी भएको छैन । दूतावासका कर्मचारीले जिल्लामा आएर पहिलो पटक अनुगमन गरे पनि पछिल्लो समय आएका छैनन् । भवन निर्माणको ढिलासुस्तीको विषयमा उक्त निर्माणको जिम्मा लिएका व्यवसायी पुनसँग प्रश्न गर्दा विभिन्न कारणले समयमै भवन निर्माण गर्न नसकेको स्वीकार्दै बाँकी काम छिटै सम्पन्न भएर हस्तान्तरण गर्ने बताए । भवनको निर्माणको अधिकांस काम सम्पन्न भएको र फिनिसिङको कामका लागि पनि आफू लागिरहेको उनको भनाइ छ । “भवनको काम अन्तिम चरणमा छ, झ्याल ढोका राख्ने काम पनि करिब एक महिनाभित्रै सम्पन्न हुन्छ,” उनले भने, “दूतावासका कर्मचारी अन्तिम अनुगमनका लागि जिल्लामा नआउँदा मैले लिनुपर्ने अन्तिम किस्ता पनि भुक्तानी भएको छैन भने स्रोत जुटाउन समस्या हुँदा केही ढिला पनि हुन गयो ।” दूतावासले तत्काल भुक्तानी नगरे पनि आफैले ऋण काढेर भए पनि छिटै भवन निर्माण सम्पन्न पर्ने उनको भनाइ छ ।

भुक्तानी नभई भवन हस्तान्तरण हुँदैन
“भवन निर्माण सकिए पनि मैले पाउनुपर्ने सबै भुक्तानी नपाएसम्म विद्यालयलाई भवन हस्तान्तरण गर्न त सकिँदैन,” उनले भने, “त्यसका लागि दूतावासका कर्मचारी जिल्लामा आएर भवन निर्माणको मूल्यांकन गरेर अन्तिम रिपोर्ट दिन आवश्यक छ ।” रुकुमको विभिन्न आयोजनामा ढिलासुस्ती गर्ने ९ ठेकेदार कम्पनीको सूची यसअघि नै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गृह मन्त्रालयमा बुझाई सकेको छ । आयोजना सम्झौता अवधिभन्दा धेरै समय कटिसक्दा पनि निर्माण नगरेको भन्दै ९ ठेकेदार कम्पनीको सूची गृह मन्त्रालयमा पठाएको थियो । जसमा त्रिभुवन जनतामा माविको भवन निर्माण ठेक्का लिएको स्वच्छन्द कन्ट्रक्सन सूर्य जेभी पनि छ ।