सागर परियार
शुक्रवार, भदौ २९, २०७५
296

जुम्ला-कर्णाली प्रदेशका २४ वटा विद्यालयलाई डिजिटल विद्यालय बनाइने भएको छ । पहिलो चरणमा २४ विद्यालय डिजिटल बन्दैछन् । तीन वर्षमा साक्षर प्रदेश घोषणा गर्ने तथा कर्णालीलाई डिजिटल बनाउने प्रदेश सरकारले लिएको नीति अनुरुप विद्यालय क्षेत्रलाई पनि डिजिटल बनाउने योजना कर्णालीमा अघि सारिएको हो । कर्णाली प्रदेशका १० वटै जिल्लाका नमुना विद्यालयलाई डिजिटलका रूपमा घोषणा गरिने छ ।
प्रतिविद्यालयलाई डिजिटल बनाउने प्रदेश सरकारले १५ लाखका दरले बजेट दिने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मालिका तथा कानुन मन्त्रालयले लिएको डिजिटल प्रदेशको नीतिलाई विद्यालय, यातायात, प्रशासनिक क्षेत्रबाट लागू गर्दै कार्यान्वयन चरणमा लिने तयारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव उपेन्द्रकेशर खनालले बताए । उनका अनुसार, डिजिटल कर्णाली कार्यक्रमअन्तर्गत विद्यालय डिजिटल कार्यक्रमको उपयोगिता तथा फाइदाका विषयमा जानकारी गराउन मन्त्रालयको एक टोली जुम्ला आइपुगेको छ । उनले भने, “चालू आवमा कर्णाली प्रदेशका २४ वटा विद्यालय डिजिटल बन्ने छन्, जसअन्तर्गत जुम्लाका दुई विद्यालय परेको जानकारी दिए । कर्णालीका १० वटै जिल्लाका २४ विद्यालयमा डिजिटल कार्यक्रम सञ्चालनको आन्तरिक मामिला तथा कानुन मन्त्रलायले अन्तिम तयारी थालेकोे छ । यसअघि कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा डिजिटल कर्णाली कार्यक्रम स्वीकृत गरेको थियो ।

सहसचिव उपेन्द्रकेशर खनाल नेतृत्वको टोली डिजिटल कार्यक्रमका लागि छनोट भएको जुम्लाको चन्दननाथ नमुना माविका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिसँग अभिमुखीकरण समेत गरेको छ । कर्णाली सरकारले पाँच वर्षमा डिजिटल प्रदेश बनाउने योजना लिएको छ । त्यसको कार्यान्वयन स्वरुप शिक्षा, सुरक्षा, प्रशासन र यातायातको क्षेत्रमा लागू गर्न तयारी तीव्र पारिएको खनालले बताए ।
अपराध न्यूनीकरण, शिक्षामा प्रविधिको पहुँच, सेवा प्रवाहमा गुणस्तरियता र जनतालाई सुरक्षाको प्रत्याभूत गर्नका लागि डिजिटल कार्यक्रम लागू गर्न आवश्यक रहेको उनको भनाइ छ । शैक्षिक क्षेत्रका अनियमितताको अन्त्य, गुणस्तरीय शिक्षा प्रदान, शिक्षक नियमितता, शैक्षिक माफियाको अन्त्यका लागि विद्यालयमा डिजिटल प्रविधि सुरु गर्न लागेको खनालले सुनाए । अन्तरिक मामिला तथा कानुन मन्त्रालयको टोली कर्णालीका १० वटै जिल्लामा डिजिटल प्रविधिको उपयोगिता तथा फाइदाका बारेमा बुझाउँदै हिँडेको छ ।
जुम्लाका २ विद्यालय डिजिटल
कर्णालीका २४ विद्यालय डिजिटल बनाउने कर्णाली सरकारको योजनाअनुसार जुम्लाका २ वटा विद्यालय छनोटमा परेका छन् । विगतदेखि शैक्षिक क्षेत्रमा राम्रो नजिता ल्याउँदै आएका जुम्लाका २ विद्यालय डिजिटल बन्ने भएका हुन् । जुम्लाकै जेठो तथा नमुना चन्दननाथ मावि, कालिका मावि तलिकुडु विद्यालय डिजिटल बन्दैछन् । कर्णाली प्रदेश पाँच वर्षमा डिजिटल बन्ने योजनाअनुसार जुम्लाका दुई विद्यालय परेकोमा चन्दननाथ माविले खुसी व्यक्त गरेको छ ।
शैक्षिक क्षेत्रमा रहेको परम्परागत पढन शैलीको अन्त्य भएर शैक्षिक क्षेत्र नै डिजिटल बन्ने विश्वास गरेका छौं, चन्दननाथ माविका प्रधानाध्यापक टंक महतले भने, “यसको अधिकतम उपभोग विद्यार्थी र शिक्षकले पनि गर्नु पर्दछ । स्मार्ट विद्यालय घोाषणाभित्र पनि परेका छौ,” सबै क्षेत्रबाट मिलेको अवसरले शिक्षा क्षेत्रको विकासका लागि अझै खटिनु पर्ने बेला आएको प्रअले बताए । डिजिटल विद्यालय बनाउन प्रदेश सरकारले दिने १५ लाख पर्याप्त नभए पनि विद्यालयले यसमा व्यवस्थापन गरेर प्रदेश सरकारको लक्ष्य पूरा गर्ने दाबी उनको छ । विद्यालयमा ल्याव र इन्टरनेटबाट खोजमूलक सामग्री खोजेर पढ्ने प्रविधिको विकास डिजिटल प्रक्रियाले गर्नेछ ।

३ करोड बढी खर्च हुने
कर्णाली प्रदेशका २४ विद्यालयलाई डिजिटल बनाउन ३ करोड ६० लाख बढी खर्च हुने भएको छ । प्रतिविद्यालयलाई दिने १५ लाखका आधारमा २४ विद्यालयका लागि ३ करोड ६० लाख खर्च हुने भएको छ । साक्षर कर्णाली प्रदेश बनाउने शीर्षकमा छुट्याइएको बजेटअन्तर्गत खर्च हुने आन्तरिक मालिमा तथा कानुन मन्त्रालयले जनाएको छ ।
डिजिटल विद्यालय निमार्णका लागि प्रदेश सरकारको बैठकले अनुमान गरी गरेको निर्णय अनुसार प्रतिविद्यालय १५ लाख दिइने छ । शिक्षामा डिजिटल प्रविधि भित्र्याउन आफ्नो सहजताअनुसार सामग्री विद्यालयलाई खरिदका लागि निर्देशन दिइने छ । डिजिटल प्रविधिको कार्यान्वयन उत्कृष्ट गर्ने विद्यालयलाई थप बजेटको व्यवस्था हुनसक्ने मन्त्रालयले आश्वासन दिएको छ ।