कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
299

त्रिभुवन विश्वविद्यालयभन्दा जेठो ठाकुरराम बहुमुखी क्याम्पसलाई बीबीए अध्यापनका लागि सम्बन्धन स्वीकृत भएको छ । बीबीए अध्यापनका लागि स्वीकृति प्रदान गरेपछि भर्नाका लागि फाराम भर्ने विद्यार्थीको घुइँचो लागेको छ ।
वीरगन्जमा सरकारीस्तरको क्याम्पसमा पहिलो पटक बीबीए अध्ययनका लागि ठाकुरराम बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको हो । प्रदेश नम्बर २ मै पहिलो पटक बीबीए अध्यापनका लागि बुधबारमात्रै त्रिभुवन विश्वविद्यालयले सम्बन्धन स्वीकृत गरेको थियो । सम्बन्धन प्राप्त गरेपछि क्याम्पसले बिहीबार बिहान सात बजेदेखि दिउँसो दुई बजेसम्म एक दिनका लागि बीबीए प्रथम सेमेष्टरका लागि फाराम भर्न सूचना सार्वजनिक गरेको थियो । ३२ सिटका लागि एक दिनमै १९० जना विद्यार्थीले बीबीए अध्ययनका लागि भर्ना फारम भरेको सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले जानकारी दिए । मुलुकको प्रमुख नाका औद्योगिक करिडोर तथा आर्थिक कारोबार बढी हुने वीरगन्जमा बीबीए विषय अत्यन्त महत्वपूर्ण रहेको भए पनि अहिलेसम्म त्रिविले सम्बन्धन नदिँदा यस क्षेत्रका विद्यार्थी लाखौं रुपैयाँ खर्च गरेर बाहिर पढ्न जानुपर्ने बाध्यता थियो ।