कारोबार संवाददाता
बुधवार, आश्विन २४, २०७५
463

जाजरकोट-जाजरकोटका सामुदायिक विद्यालयलाई आधुनिक बनाई शैक्षिक अवस्था सुधार्न होडबाजी चलेको छ । यहाँका स्थानीय तहले विभिन्न विधि प्रयोग गर्दै आफ्नो क्षेत्रमा पर्ने विद्यालयमा नयाँनयाँ तरिका अपनाउन थालेको पाइएको छ ।
विद्यालयमा शिक्षण गर्दा आधुनिक प्रविधि प्रयोगदेखि, शिक्षक संख्या थप्नुका साथै सिसिक्यामराको निगरानीमा शिक्षण गर्ने विधि प्रयोग गर्न थालिएको छ । कामका आधारमा बजेट विनियोजन र विद्यार्थीको शिक्षण सिकाइ क्रियाकलापमा आएको नतिजाको आधारमा मूल्यांकनसमेत गर्न थालिएको छ ।

भेरी नगरपालिकाले १३ वटा विद्यालय छनोट गरी आधुनिक प्रविधिमार्फत शिक्षण आरम्भ गरेको छ । डिजिटल प्रविधिमार्फत शिक्षण गर्नका लागि विद्यालय छनोट गरी शिक्षण कार्य अगाडि बढाएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । बढ्दो आधुनिकतासँग विद्यार्थीको इच्छा र रुचिको सम्बोधन गर्दै शिक्षणमा पनि आधुनिकता ल्याइएको उनको भनाइ छ । डिजिटल प्रणाली प्रयोग गरी शिक्षण गर्दा विद्यार्थीले छिटो बुभ्mने गरेको उनको भनाइ छ ।
विद्यार्थीले अंक, शब्द छुनेबित्तिकै आवाज आउने (टकिङ टिचर सिस्टम), पाठ्यपुस्तक, स्पिकर, नबोल्ने किताब, पेन ड्राइभलगायतका सामग्री विद्यालयलाई उपलब्ध गराई शिक्षण कार्य आरम्भ गरिएको भेरी नगरपालिकाका प्रेस सल्लाहकार रामचन्द्र घर्तीले बताए । यो विधि गरी बाल कक्षादेखि कक्षा ५ सम्म पठनपाठन सुरु गरिएको छ ।
शिक्षित, समुन्नत र समृद्ध नगर निर्माणका लागि नगरपालिकाले शिक्षामा लगानी बढाआंै भन्दै काम सुरु भएको घर्तीले बताए । नगरपालिकाभित्रका ५५ वटा विद्यालयमा अर्को वर्ष डिजिटल प्रविधि विस्तार गरिने उनको भनाइ छ ।
त्यस्तै कुशे गाउँपालिकाले शिक्षा क्षेत्रमा अनुदानमा शिक्षक नियुक्ति प्रक्रियादेखि विद्यालयमा सिसिटिभी क्यामरा जडान, विद्युतीय हाजिरी जडान गरी निगरानी बढाएको छ । प्रत्येक वडामा १ विद्यालय पर्ने गरी ९ वटा विद्यालय छनोट गरी टकिङ टिचर सिस्टममार्फत शिक्षण कार्य सुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
कामचोर शिक्षकलाई विद्यालयमा नियमित पठनपाठन गराउन विद्युतीय हाजिरीको व्यवस्था गरी निगरानी बढाइएको उनको भनाइ छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा विद्यालयमा नियमित अध्यापन नगर्ने ३ जना शिक्षकको तलब रोक्का गरिएको छ । कम शिक्षक भएका विद्यालयमा गाउँपालिकामार्फत शिक्षक नियुक्ति गरी शिक्षणकार्य प्रभावकारी बनाउनका लागि काम सुरु भइसकेको बस्नेतले जानकारी दिए ।
त्यस्तै नलगाड नगरपालिकाले १४ वटा नमुना विद्यालय छनोट गरी पहिलो चरणमा आधुनिक प्रविधि प्रयोग गरी शिक्षणकार्य सुरु गरेको छ । यो प्रविधिबाट विद्यार्थीले पाएको ज्ञानका आधारमा अन्य विद्यालयमा समेत डिजिटल प्राविधि विस्तार हुने प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस स्थापना गरी विद्यार्थीको स्वास्थ्य अवस्था जाँच हुने गरेको उनले बताए । विद्यालयमा विद्यार्थी बिरामी भएमा प्राथमिक उपचार गर्न सक्ने सामथ्र्य कायम गर्न प्राथमिक उपचार बाकसको स्थापना गरिएको शिक्षा शाखाका प्रमुख योगेन्द्र आरसीले जानकारी दिए । अहिले अधिकांश विद्यालयमा विद्यार्थीको उत्तीर्ण दर र प्राप्त अंकको आधारमा विद्यालयलाई सहयोग भइरहेको उनको भनाइ छ ।
छेडागाड नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि बालिका सम्मेलन र विद्यालयमा जागरण शिक्षा नै सञ्चालन गरेको छ । राम्रो प्रगति गर्ने विद्यालयलाई प्रोत्साहनस्वरुप थप सहयोग गरिने अभियान छ । शिवालय, बारेकोट, जुनिचाँदे गाउँपालिकामा समेत विभिन्न नयाँ नमुना प्रयोग गरी शिक्षणकार्य भइरहेको शिक्षा शाखाले बताएको छ । ७ वटा स्थानीय तहमा कुन तहले कति राम्रो गर्ने भन्नेमा होडबाजी चलेको देख्न सकिने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।