कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५
277

भक्तपुर-भक्तपुरका स–साना स्कुले बालबालिका धान काट्ने काममा सहभागी भएका छन् । एभरेष्ट इंगलिश स्कुल मिवाछें भक्तपुरका कक्षा ४ का ९८ जना विद्यार्थीले धान काटेका हुन् । उनीहरुले स्कुल नजिकैको खेतमा बिहानैदेखि दिनभर धान काटेका थिए ।
कक्षा ४ की विद्यार्थी सुयोग्या भण्डारीले सधैं कक्षाकोठामा मात्रै बसेर पढ्दै आएकोमा धान काट्न पाएकोमा खुशी व्यक्त गरिन् । “कक्षाकोठामा मात्रै बसेर होइन, फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुशी लागेको छ,” उनले भनिन् ।

कक्षा ४ कै छात्र रोमर्शन ढुंगेलले प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख बुझ्ने मौका मिलेको सुनाए । “यसबाट समूहमा मिलेर काम गर्न पनि सिकें । व्यवहारिक ज्ञानमात्रै नभई खेतीपातीप्रतिको माया पनि जगाएको छ,” उनले भने ।
यसअघि ती विद्यार्थीको समूहले नै असारमा धान रोपेका थिए भने जेठमा धानको बिउ राखेका थिए । उनीहरुले धानको बिउ राख्नेदेखि धान भित्र्याउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ ।
स्कुलकी शिक्षिका एवं कार्यक्रमकी संयोजक प्रकृति न्यौपानेले खेतमा लानुअघि नै उनीहरुलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको जानकारी दिइन् । “धान काट्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा तीन दिन जानकारी गराएको थिएँं,” उनले भनिन्, “सबै जानकारी दिएपछि मात्रै फिल्डमा लगिएको हो ।” यसबाहेक पनि विषय शिक्षकहरुले आ–आफ्नो विषयअनुसारको जानकारी दिइएको उनले जनाइन् । विद्यार्थीले रोपेको धान स्कुलले नै लिने जनाइएको छ ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षका बारेमा व्यवहारिक ज्ञान दिन कार्यक्रम गरिएको जनाए । खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँंदै आएको उनले जनाए ।