अनुपमा खनाल
बिहिवार, मंसिर २०, २०७५
388

गोरखा-भूकम्पपीडित सुकुम्वासीका लागि गोरखाको पालुङटारमा बन्दै गरेको संयुक्त आवास गृह भवनलाई कृषि क्याम्पसको रूपमा प्रयोग गरिने भएको छ ।
पुनर्निर्माण प्राधिकरणले काम रोक्न आदेश दिएपछि पालुङटारको च्याङ्लीमा बन्दाबन्दैको भवन निर्माण अलपत्र परेको थियो । प्राधिकरणसँग उक्त भवन निर्माण सकेपछि कृषि क्याम्पसको रूपमा प्रयोग गर्नेबारे सैद्धान्तिक सहमति भएको नगरप्रमुख दिपकबाबु कँडेलले बताए । “नगरपालिकाले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट सम्बन्धन लिएर कृषि क्याम्पस सञ्चालन गर्ने निर्णय गरिसकेको छ,” उनले भने, “संयुक्त आवास गृहका रूपमा बन्दै गरेको भवनलाई सोही क्याम्पसको भवनका रूपमा प्रयोग गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।” भूकम्पबाट घरवार गुमाएका भूमिहीन र न्यून आय भएकाका लागि पालुङ्टार नगरपालिकाको च्याङ्लीमा संयुक्त आवास गृह निर्माण सुरु भएको थियो । प्राधिकरणको आव ०७४÷७५ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत निर्माण सुरु भएको आवास गृहको काम रोक्न प्राधिकरणले नै लिखित निर्देशन दिएपछि काम रोकिएको हो । आफ्नै निर्णयअनुसार सुरु भएको काम रोक्न प्राधिकरणले नै निर्देशन गरेपछि भवन निर्माण अलपत्र परेको हो । प्राधिकरणले २०७३ साउन २४ गते स्वीकृत गरेको बहुवर्षीय खरिद गुरुयोजना अनुसार आवास गृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले गत वर्षको असार २४ गते श्यामसुन्दर निर्माण सेवासँग सम्झौता गरी भवन निर्माणको काम सुरु गरेको थियो । तर आवास भवनको जग निर्माणको काम सकिनै लागेको बेला प्राधिकरणले गत फागुन ३ गते पत्र लेखी काम रोक्न भनेको हो । ठेकेदार कम्पनी श्यामसुन्दर निर्माण सेवाले हालसम्म १ करोड ८१ लाख रुपैयाँ खर्च भएको भन्दै त्यसको भुक्तानी माग गरेको छ । भवन निर्माणको थप काम प्राधिकरणमार्फत नै हुनुपर्ने आफूहरूको माग रहेको पालुङ्टारका नगरप्रमुख कँडेलले जानकारी दिए । १५ करोड ५० लाख ९८ हजार रुपैयाँको लागतमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सोही सम्झौता अनुसार नै भवन निर्माणको काम अघि बढाउने र निर्माण सम्पन्न भएपछि नगरपालिकालाई हस्तान्तरण गर्ने वा अहिले नै हस्तान्तरण गरेर संयुक्त लगानीमा बनाउने भन्नेबारे भने टुंगो लागिसकेको छैन । आवास गृह भवन निर्माणका लागि जग्गा भने पालुङटार नगरपालिकाले नै उपलब्ध गराएको थियो ।