कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५
550

दमौली-एसईई उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जाने सोचमा थिइन् तनहुँको घिरिङ गाउँपालिका–३ अर्चलकोटकी रुपा गुरुङ ।
सोही वडाको सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयबाट यसै वर्ष एसईई परीक्षा उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि पोखरा जानुपर्ने बाध्यता गुरुङलाई हटेको छ । विद्यालयले चालू आवदेखि नै सिभिल इन्जिनियरिङ (सबओभरसियर) को पढाइ सुरु गरेपछि गुरुङले अब गाउँमै बसेर प्राविधिक शिक्षा अध्ययनको अवसर प्राप्त गर्ने भएकी छन् ।

गुरुङले भनिन्, “प्राविधिक शिक्षा पढेपछि रोजगारी सजिलै पाइने सुनेको छु । सोही कारण प्राविधिक शिक्षा अध्ययन गर्ने सोच बनाएँ ।” उनले घरनजिकै बसेर प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउँदा खुसी लागेको बताउँदै अन्यत्र जानुपरेको भए खर्चिलो हुने बताइन् ।
घिरिङ गाउँपालिका–२ कोलडाँडाका ताराबहादुर थापा पनि गाउँमै प्राविधिक विषयको पढाइ सुरु भएपछि सजिलो भएको बताउँछन् । उनले भने, “बाहिरी जिल्लामा गएर पढ्नुपरेको भए धेरै पैसा खर्च हुन्थ्यो । घरमै बसेर पढ्न पाउँदा सजिलो भएको छ ।” थापाले प्राविधिक शिक्षाले रोजगारीको सुनिश्चितता गर्ने भएकोले अन्य विषयभन्दा प्राविधिक शिक्षा रोजेको बताए ।
विद्यालयले २०७५ असोज महिनामा १८ महिने सिभिल इन्जिनियरिङ (सबओभरसियर) को सम्बन्धन प्राप्त गरेको थियो । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले पुसको २० गतेबाट प्राविधिक शिक्षाको पढाइ सुरु भएको जानकारी दिए । उनले भने, “प्राविधिक धारतर्फ बढी आवश्यकता देखेर पढाइ सुरु गरेका हौं ।” उनका अनुसार प्राविधिक शिक्षामा २२ जना विद्यार्थी छन् । ४० जनाको कोटा भए पनि सम्बन्धन प्राप्त हुन ढिलाइ भएकाले कोटाअनुसारको विद्यार्थी संख्या पु¥याउन नसकिएको उनले बताए । उनले भने, “सम्बन्धन पाउन ढिलाइ भएकाले विद्यार्थी संख्या पु¥याउन सकेनौं, आगामी वर्ष कोटाअनुसारकै विद्यार्थी संख्या पु¥याउँछौं ।”
विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्नेमध्ये १४ छात्र र ८ छात्रा छन् । तीमध्ये १७ जनाले सोही विद्यालयबाट एसईई उत्तीर्ण गरेका हुन् भने पाँचजना भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाभित्रका विद्यार्थी छन् ।
प्रधानाध्यापक थापाका अनुसार २२ जना विद्यार्थीमध्ये तीनजनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । १८ महिने कोर्षका लागि ६० हजार शुल्क तोकिएको र पाँच किस्तामा उक्त रकम विद्यार्थीले बुझाउनुपर्ने उनले जानकारी दिए । प्राविधिक शिक्षा अध्यापनका लागि चारजना शिक्षक छन् ।
प्राविधिक शिक्षा सञ्चालनका लागि घिरिङ गाउँपालिकाले ५५ लाख सशर्त अनुदानसमेत दिएको छ । उक्त रकमबाट प्राविधिक शिक्षाका लागि आवश्यक सामग्री खरिद गरिएको विद्यालयले जनाएको छ । त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत २६ लाखको लागतमा चार कोठे भवन निर्माण गरिएको छ ।
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले अहिलेको माग र आवश्यकतालाई मध्यनजर गरेर गाउँकै विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनको प्रयास थालिएको बताए । “अहिलेको माग भनेको प्राविधिक शिक्षा नै हो, त्यसैलाई मध्यनजर गरेर गाउँपालिकाले समेत प्राविधिक शिक्षा सुरुवातका लागि आर्थिक सहयोगसमेत गरेको छ,” उनले भने ।
अहिलेको शिक्षा प्रणालीका कारण डिग्री उत्तीर्ण भए पनि देशमा रोजगारी नपाएर धेरै युवा विदेशिनुपर्ने बाध्यता रहेकाले प्राविधिक शिक्षाको नेपालमा ठूलो माग रहेको थापाले बताए ।