अनिश शर्मा गैरे
बिहिवार, पुष २६, २०७५
325

गुल्मी-गुल्मीको एक विद्यालयले शैक्षिक सत्र २०७५ देखि २०८० सम्मको ७५ करोड बढीको पञ्चवर्षीय गुरुयोजना तयार पारेको छ ।
सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले सो गुरुयोजना तयार पारेको हो । विद्यालयलाई नाममात्रको नमुना नभई काममै नमुना विद्यालय बनाउने उद्घोषका साथ प्रधानाध्यापक केशरबहादुर थापाले १ सय ८७ पृष्ठको गुरुयोजना प्रस्तुत गरे ।

विद्यालयलाई शैक्षिक, भौतिक र आर्थिक रूपमा सबल बनाउने र एक अनुपम उत्कृष्ट नमुना विद्यालय बनाउनका लागि यो गुरुयोजना तयार पारिएको विद्यालयका सहायक प्रधानाध्यापक युवराज ज्ञवालीले जानकारी दिए ।
प्रस्तुत गुरुयोजना पत्रमा पाँच वर्षका लागि ७५ करोड २४ लाख ५१ हजार बराबरको बजेट पेस गरिएको छ । जसमा शैक्षिक क्षेत्रमा १५ करोड ५५ लाख ५१ हजार, विद्यालयको भौतिक क्षेत्रमा ४१ करोड २७ हजार व्यवस्थापकीय क्षेत्रमा ३ करोड ६२ लाख ४ हजार र अन्य क्षेत्रमा १५ करोड ६ लाख ६९ हजार बराबरको खर्च गरिने बताइएको छ । उक्त बजेट सरकारी तथा आन्तरिक स्रोतबाट प्राप्त हुने विद्यालयले जनाएको छ । प्रधानाध्यापक थापाले सबै मिलेर हरेक तवरबाट अब्बल बनाउने उद्देश्यले अगाडि बढ्न लागिएको जानकारी दिए ।
“नेपाल सरकारबाट २०७४ सालमा जिल्लाकै एउटा नमुना विद्यालयको रूपमा घोषणा भएको यस विद्यालयलाई सबै मिलेर काममा पनि जिल्लाकै उत्कृष्ट र नमुना विद्यालय बनाउन कम्मर कसेका छौं,” उनले भने, “यसमा सरोकारवाला सबैको सहयोग हुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”
औसत सिकाइ उपलब्धि वृद्धि गर्ने, विद्यार्थी केन्द्रित, सिकाइमैत्री र प्रविधिमैत्री वातावरण सिर्जना गर्ने, विद्यालयलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्ने, आन्तरिक सक्षमताको विकास गर्ने, उत्कृष्ट कक्षाकोठा व्यवस्थापन गर्ने पञ्चवर्षीय गुरुयोजनाको उद्देश्य रहेको उनको भनाइ छ ।
त्यस्तै आधुनिक पुस्ताकालय, प्रयोगशाल, छात्रावास र सभाकक्षको निर्माण, विद्यालयलाई विद्यार्थी र अभिभावकको रोजाइको केन्द्र बनाउने, विद्यालयका स्रोत साधनको परिचालन गरी आर्थिक रूपमा सवल एवं सक्षम बनाउने गुरुयोजनामा उल्लेख छ ।
विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध कायम गर्दै विद्यालय कार्यक्रमअघि बढाउने र कक्षा ९ देखि १२ सम्मको प्राविधिक धारको कार्यक्रम सञ्चालन गर्ने पञ्चवर्षीय गुरुयोजनाले परिकल्पना गरेको छ ।
विद्यालयले तयार पारेको विद्यालय विकासको गुरुयोजना स्वीकृतिका लागि रेसुंगा नगरपालिकामा पठाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चूडामणि पन्थीले बताए । नगरपालिकाको स्वीकृति पछि कार्यान्वयनमा अगाडि बढ्ने विद्यालयले जनाएको छ ।