कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
268

अस्थायी-करार शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले यस्तो माग गरेको हो ।
समितिले सेवाबाट अवकास लिन चाहने शिक्षकहरुलाई औषधोपचारको एकमुष्ट रकमसहित स–सम्मान विदा गर्नपनि माग गरेको छ । समितिका संयोजक हेमनाथ चौलागाईले सबै अस्थायी शिक्षकहरुलाई विस्थापित गर्न नपाइने बताए । उनले सबै अस्थायी शिक्षकहरुलाई आन्तरिक परीक्षामा समेत सहभागी गराउनुपर्नेमा जोड दिए ।
समितिका वरिष्ठ उपाध्यक्ष गोपाल बहादुर बस्नेतले सरकारले आफूहरुले उठाएका जायज माग पूरा नगरे यसअघि सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने चेतावनी दिए । समितिका सह–संयोजक प्रविण न्यौपानेले सरकारले १७ वर्षसम्म पनि शिक्षक सेवा आयोग नखोलेर आफूहरुलाई अन्याय गरेको आरोप लगाए ।