कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५
419

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् । शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उनले उल्लेख गरे ।
चन्द्रागिरी नगरपालिकास्थित बलम्बुमा रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रलाई सेवाको क्षेत्र बनाउनुपर्ने बताएका हुन् । लगानीकर्ताले संविधानको भावनाअनुरुप काम अघि बढाएको जनाउँदै मन्त्री पोखरेलले शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु रहेको बताए ।
“नाफाको आशा नगर्नुस्, देशको लागि योगदान दिनुहोस्,” मन्त्री पोखरेलले भने, “शुल्क निर्धारण गर्दा सरकारी प्रणालीलाई लागू गर्नुहोस् ।” सार्वजाजिक शिक्षालाई सबल बनाउनुपर्ने बताउँदै उनले प्राविधिक-व्यावसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेकोमा जोड दिए । यो वर्ष बिद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने र अर्को वर्ष साक्षर नेपाल घोषणा गर्ने तयारी रहेको उनले जानकारी दिए । उनले शिक्षालाई श्रमसँग, श्रमलाई सिपसँग, सिपलाई उत्पादनसँग जोड्नुपर्ने बताउँदै शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारको रुपमा विकास गर्नुपर्ने बताए । उनले शिक्षामा विज्ञान प्रविधि जोड्नु अनिवार्य रहेकोमा जोड दिए ।